संयोजक ‘प्रचण्ड’ सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त
रुकुमपूर्व। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुकुमपूर्वबाट उम्मेदवारी दिएसँगै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सहिद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त रहनुभएको छ ।
संयोजक दाहालले सिस्ने गाउँपालिका–५ रुमालबारास्थित ‘जनयुद्ध’का सहिद परिवारजनसँग घरमै पुगेर भेटघाट गर्नुभयो । सहिद सीता घर्तीकी आमा सावित्रीले जनयुद्धका नायक रुकुमपूर्वबाट प्रतिनिधिसभामा उम्मेदवार बन्दा सिङ्गो रुकुमेली जनता उत्साहित बनेको बताउनुभयो ।
अर्का सहिद बन्दना परियारकी दिदी चेतनाले सशस्त्र युद्धका नेतृत्वकर्ता नै उम्मेदवार बनेर आउँदा रुकुमपूर्वका जनतामा नयाँ आशा पलाएको बताउनुभयो । सहिद जीवन काजी (चन्द्रबहादुर) थापाकी ८६ वर्षीया आमा चन्द्रकुमारीले सहिदका सपना पूरा गर्न सुझाव दिनुभयो ।
सहिद परिवारको कुरा सुनेपछि संयोजक दाहालले सहिदका सपना आफूले बिर्सनै नसक्ने बताउनुभयो । सहिदको सम्मानमा राज्यका तर्फबाट विभिन्न योजना अघि बढेको जानकारी गराउनुभयो ।
घरदैलो अभियानका क्रममा उहाँले रुकुमपूर्वका पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मतदान गर्न अपिल गर्नुभयो ।
