रास्वपाका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किए
काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर जनकपुर हुँदै पूर्वका विभिन्न जिल्लामा पुगेर रास्वपाका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन्। शाह शनिबार अपराह्न सुनसरीको इटहरी पुगेका थिए। इटहरीबाट उनी विमानमार्फत काठमाडौं फर्किएको जनाइएको छ।
इटहरीमा केहीबेर उनले आफ्ना समर्थकहरूसँग गाडीभित्रैबाट भेटघाट गरेका थिए। बालेन शाहले गत माघ ४ गते काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका थिए। राजीनामा दिएलगत्तै सोही दिन उनी जनकपुर पुगेका थिए।
माघ ५ गते जनकपुरमा आयोजित सभामा सहभागी भएपछि उनी झापा प्रस्थान गरेका थिए। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका शाह त्यसपछि पूर्वका विभिन्न जिल्लामा पुगेका थिए। उनले इलाम, ताप्लेजुङ, पाँचथर र तेह्रथुमका विभिन्न स्थानमा पुगेर समर्थकहरूसँग भेटघाट तथा संवाद गरेका थिए।
