राष्ट्रियसभा निर्वाचन : ५० प्रतिशत बढी मतदान
काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि आज सातै प्रदेशको राजधानीमा भइरहेको निर्वाचनमा ५० प्रतिशत बढी मत खसेको छ । आइतबार दिउँसो १२ः४५ बजेसम्म ५० प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने १७ पदका लागि आज बिहान ९ बजेदेखि शुरू भई दिउँसो ३ बजे सम्पन्न हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मत खसिसकेको हो ।
अहिलेसम्म कोशी प्रदेशमा ३१३, मधेश प्रदेशमा २२७, बागमती प्रदेशमा २१७, गण्डकी प्रदेशमा १८०, लुम्बिनी प्रदेशमा १६३, कर्णाली प्रदेशमा १४५ र सुदूरपश्चिम प्रदेशमा १८६ मत खसेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । रिक्त हुने १८ पदमध्ये कोसी प्रदेशमा खस–आर्यतर्फको एउटा पदमा निर्विरोध भएको थियो । बाँकी १७ पदका लागि अहिले मतदान भइरहेको छ । कोसी प्रदेशका खस आर्यतर्फका उम्मेदवार नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए ।
कोसी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ, मधेस प्रदेशको महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा, बागमती प्रदेशको भुटनदेवी माध्यमिक विद्यालय, हेटौंडा उपमहानगरपालिका ४ मकवानपुरमा मतदान भइरहेको आयोगले जनाएको छ ।
यसैगरी, गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की, लुम्बिनी प्रदेशको कर्मचारी मिलन केन्द्र, घोराही, दाङ, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलालीमा मतदान चलिरहेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, नगर प्रमुख तथा उपप्रमुख एवं गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहेको निर्वाचक मण्डलको व्यवस्था गरिएको छ । कुल दुई हजार ५६ मतदाता रहेकामा विभिन्न कारणले हाल दुई हजार ११ कायम रहेको आयोगले जनाएको छ ।
