राष्ट्रिय सभा निर्वाचन : बागमती, लुम्बिनी र कोशीबाट को-को भए विजयी ?
मकवानपुर – राष्ट्रिय सभाको आज भएको निर्वाचनमा बागमती प्रदेशबाट महिलातर्फ नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । कांग्रेस उम्मेदवार गीता देवकोटा र एमाले उम्मेदवार प्रेमप्रसाद दङ्गाल विजयी हुनुभएको छ ।
कांग्रेसकी देवकोटाले ६ हजार २३९ मतभार प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सरोजकुमारी झाले दुई हजार ५२२ मतभार प्राप्त गर्नुभयो । नेपाल मजदुर किसान पार्टीकी कविता महर्जनले १९७ मतभार प्राप्त गर्नुभयो ।
यसैगरी नेपाली कांग्रेस र नेकपा (एमाले) का गठबन्धनका साझा उम्मेदवार एमालेका प्रेमप्रसाद दङ्गालले ६ हजार २०५ मतभार प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपाका प्रेमप्रसाद सापकोटाले दुई हजार ५४१ मतभार तथा नेपाल मजदुर किसान पार्टीका विक्रम ढुकुछुले १९७ मतभार प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिनुभयो ।
राष्ट्रिय सभा सदस्यमा कोशीबाट मेचे र पोर्तेल निर्वाचित
राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट नेकपा (एमाले) की रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित हुनुभएको छ ।
आज भएको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनका तर्फबाट महिलातर्फ एमालेकी मेचेले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नमिता न्यौपानेलाई पराजित गर्नुभएको हो । मेचेले सात हजार १७३ मतभार प्राप्त गर्नुभयो भने न्यौपानेले दुई हजार २६८ मतभार ल्याउनुभयो ।
यसैगरी दलिततर्फ नेकपा (एमाले) का पोर्तेल निर्वाचित हुनुभयो । पोर्तेलले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का खेम सुन्दासलाई पराजित गर्नुभयो । पोर्तेलले सात हजार ४२३ मतभार प्राप्त गर्नुभयो भने सुन्दासले दुई हजार २७ मतभार ल्याउनुभयो ।
‘कोशी प्रदेशमा राष्ट्रिय सभाका तीन सदस्य पदका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनुभयो । राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा १३७ स्थानीय तहमध्ये नेपाली कांग्रेसका ११३, एमालेका १०८, नेपाली कम्युनिष्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका चार–चार तथा स्वतन्त्र दुई जना रहेका थिए ।
प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका पाँच र जसपाका एक सांसद मतदाता थिए । प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपाका तीन, एमालेका दुई, श्रम संस्कृति पार्टीका एक र भ्रष्टाचार मुद्धाका कारण झापा गाउँपालिकाका अध्यक्ष निलम्बनमा परेका कारण मतदाता सूचीबाट उनको नाम हटाइएको थियो ।
लुम्बिनीमा कांग्रेस र एमालेका उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारहरू विजयी भएका छन् । महिलातर्फ एमालेकी रामकुमारी झाँक्री तथा अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी र अपाङ्ग÷अल्पसङ्ख्यक कोटामा वासुदेव घिमिरे विजयी हुनुभएको हो ।
महिलातर्फ एमालेकी झाँक्री ६ हजार ३०३ मतभारसहित विजयी हुनुभएको हो । उहाँकी निकटम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की दुर्गाकुमारी भण्डारीले एक हजार ३६२ मत तथा राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १५२ मतभार प्राप्त गर्नुभयो ।
यसैगरी अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी पाँच हजार ९७७ मतभारसहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वृहस्पति अधिकारीले एक हजार ८३२ मतभार प्राप्त गर्नुभयो । यस्तै राष्ट्रिय जनमोर्चाका बमबहादुर खत्रीले १३३ मतभार पाउनुभयो । यस्तै अपाङ्ग÷अल्पसङ्ख्यकतर्फ कांग्रेसका वासुदेव घिमिरे ६ हजार ३२२ मतभारसहित विजयी हुनुभयो भने नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सर्जन विकले एक हजार ६०१ मतभार पाउनुभयो ।
निर्वाचनमा प्रदेशसभातर्फ ७८ र स्थानीयतहतर्फ २०८ मत खसेको थियो । जसमा प्रदेशसभातर्फ महिला ३० र पुरुष ४८ मत खसेको थियो । जम्मा प्रदेशसभातर्फ ८३ मतमा पाँच जना र स्थानीय तहतर्फ २१७ मतदातामध्ये नौ जना अनुपस्थित रहेको थियो ।
