काठमाडौं–३ मा कांग्रेसमा पहिरो : दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ता उज्यालो नेपाल पार्टीमा प्रवेश
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत बौद्ध तीनचुली निवासी, नेपाली कांग्रेसमा विगत करिब ३० वर्षदेखि सक्रिय रहँदै आएका पूर्व पर्यटन विभाग केन्द्रीय सदस्य इन्द्र लामा ,कागेश्वरी मनहरा–१ का बागवीर लामा सहित कांग्रेसका दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता औपचारिक रूपमा उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका हुन्। प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै इन्द्र लामाले अब देशको नेतृत्व गर्न सक्ने स्पष्ट र सक्षम नेतृत्व कुलमान घिसिङ र उज्यालो नेपाल पार्टी सँग मात्र रहेको बताए।
उनले भने, “सुशासन, समृद्धि, सामाजिक न्याय र जनतामा प्रत्यक्ष ‘delivery’ दिन सक्ने नेता भनेकै कुलमान घिसिङ हुन्। देशलाई सही दिशामा लैजान सक्ने सामर्थ्य उहाँमै छ।”
कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङ ले लामो समयदेखि स्थापित पार्टी परित्याग गरी उज्यालो नेपाल पार्टीप्रति विश्वास व्यक्त गरेकोमा धन्यवाद व्यक्त गरे। उनले अब देशको नेतृत्व गर्ने स्पष्ट उद्देश्यसहित उज्यालो नेपाल पार्टी स्थापना गरिएको उल्लेख गर्दै जनताको भरोसा र विश्वासले आफूहरू थप अनुभवी र जिम्मेवार बन्दै गएको बताए।
घिसिङले आगामी दिनमा अझ धेरै नेता–कार्यकर्ता उज्यालो नेपाल पार्टीमा जोडिने विश्वास व्यक्त गर्दै देशलाई उज्यालो बनाउने अभियानमा सबैलाई एकताबद्ध हुन आह्वान गरे।
