`

नयाँ र पुरानाबीचको चुनावले संकट टर्दैन, चुनौती झन गहिरिन्छन् : घनश्याम भुसाल (भिडियो)

Nepal One HD १२ माघ २०८२ १२:४९
प्रमुख खबर

काठमाडौँ । नेकपा संयुक्तका कार्यबाहक अध्यक्ष घनश्याम भुसालले आगामी निर्वाचनले मात्र देशको वर्तमान संकट समाधान नहुने स्पष्ट पारेका छन् । भिडियो सन्देशमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचनपछि पनि मुलुक आन्तरिक राजनीति र भूराजनीतिक दबाबका कारण थप जटिल अवस्थामा फस्न सक्ने चेतावनी दिएका छन् ।

भुसालका अनुसार अहिलेको अवस्था यस्तो छ जहाँ नागरिकले निर्भय र शान्त जीवन बिताउनै कठिन हुँदै गएको छ । ‘चुनावपछि सबै कुरा ठिक हुन्छ भन्ने भ्रममा नपर्नुहोस्’, उनले भने, ‘चुनावपछि पनि आन्तरिक राजनीतिक खिचातानी र बाह्य शक्तिको खेलले हामीलाई थप चुनौती दिनेछ ।’ उनले भदौ २३ र २४ गते भएको ‘जेन्जी आन्दोलन’को सन्दर्भ उठाउँदै नयाँ र पुराना दुवै राजनीतिक शक्तिको कडा आलोचना गरे । पुराना दलहरू आफ्नो असफलता लुकाउन र नयाँ दलहरू पुरानालाई मात्र गाली गरेर निर्वाचनमा होमिएको भन्दै उनले दुवै प्रवृत्तिले जनताको असन्तुष्टि झन् बढाउने बताए ।

भुसालले भदौ २३ गते बानेश्वर पुगेपछि आन्दोलनको नेतृत्व अरूको हातमा गएको र त्यसकै प्रभावस्वरूप भदौ २४ गते प्रधानमन्त्री भाग्नुपरेको दाबी गरे । उनका अनुसार जनताको वास्तविक आक्रोशलाई ‘जेन्जी आन्दोलन’ को नाममा प्रयोग गरियो र त्यसलाई अन्य शक्तिले नियन्त्रणमा लिए । ‘पुराना दलहरूले राज्यलाई जुवा जस्तै खेले’, उनले भने, ‘त्यसैको परिणामस्वरूप जनताको आक्रोश विष्फोट भयो ।’ तर त्यो आक्रोश पनि अन्ततः अरूको स्वार्थअनुसार मोडिएको उनको टिप्पणी थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै भुसालले सत्ता हातमा हुँदा पनि बिचौलिया र दलालतन्त्रसँग जुध्न नसक्नु उनीहरूको ठूलो राजनीतिक कमजोरी भएको बताए। सत्ताको लत कति घातक हुन्छ भन्ने उदाहरणका रूपमा उनले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्तुत गरे । भूसालले पछिल्लो समय राजनीतिको केन्द्रमा देखिएका रवि लामिछाने र बालेन्द्र शाहप्रति पनि प्रश्न उठाए ।

उनीहरूमा शासन, कुशासन, विचार, सिद्धान्त र इतिहासबारे स्पष्ट धारणा नदेखिएको भन्दै उनले आलोचना गरे । ‘देश बनाउँछु भन्छन्, तर कसरी बनाउने भन्ने स्पष्ट छैन’, भुसालको भनाइ थियो । नेपाली कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्माबारे टिप्पणी गर्दै उनले देउवाको नेतृत्वबाट पार्टी केही हदसम्म मुक्त भए पनि बिचौलिया र दलालतन्त्रविरुद्ध स्पष्ट रूपमा उभिन नसकेको आरोप लगाए । अन्त्यमा भुसालले अहिले देशलाई नयाँ अनुहारभन्दा पनि घुस नखाने, बिचौलियासँग नझुक्ने र जनताको पक्षमा उभिने राजनीतिक शक्ति आवश्यक रहेको बताए । ‘एउटा ‘उद्धारकर्ता’ आएर सबै ठिक पारिदिन्छ भन्ने भ्रममा जनता बारम्बार परिरहेको छ’, उनले चेतावनी दिए, ‘यही भ्रम अहिले फेरि दोहोरिँदैछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *