काठमाडौं महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने
काठमाडौँ । ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाले स्वास्थ्य अवस्था सर्वेक्षणको काम आइतबारबाट सुरु गर्दैछ । सर्वेक्षणका लागि घरघरमा जाने नर्सिङ् कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन प्रदान गरिएको छ ।
सर्वेक्षणमा जाने स्वास्थ्यकर्मीलाई अपेक्षित नतिजाका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, ‘यो तपाईँहरुको पदीय जिम्मेवारी मात्र होइन । मानवीय सेवाको काम पनि हो । त्यसैले जिम्मेवारी पूरा गर्न होइन । कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकलाई हाम्रा लागि पनि कोही रहेछन् । पर्दा सहयोग पाइने रहेछ भन्ने मनदेखि नै अनुभूति गराउने आचरण गर्नुहोला ।’ उनले कुनै पनि प्रकारबाट नतिजा प्राप्त गर्नुमा जोड दिँदै भनिन्, ‘आपत टार्ने पैसा नहुँदा, अप्ठ्यारो पर्दा साथ दिने कोही नहुँदा तपाईँले सोचेको जस्तो व्यवहार ज्येष्ठ नागरिकबाट प्राप्त नहुन सक्छ । यसलाई स्वभाविक ठान्नु । उहाँहरुलाई सम्झाउनु बुझाउनु, सहज वातावरण बनाएर काम गर्नु ।’
‘बदलिँदो सामाजिक परिवेशले सन्तान विदेशमा र आमाबुबा स्वदेशमा भएको अवस्था छ,’ उनले भनिन्, ‘काठमाडौँमा भएका आमाबुबाको स्वास्थ्य अवस्था, कागजमा लेखेको अक्षर पढेका भरमा वास्तविकता थाहा नहुन सक्छ । आमाबुबाले सही कुरा नसुनाउन सक्नुहुन्छ । परामर्शमा भनिएका कुरा कागजमा हुँदैनन् । यसकारण उहाँहरुको अवस्था विदेशमा भएका सन्तानलाई थाहा दिएर स्वस्थ्य जीवनका लागि सहयोग गर्न टेलि मेडिसिन प्रणाली बनाउँदैछौँ ।’ उनले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गराउने दाबी गर्दै महानगरपालिकाको सन्देश नागरिकलाई प्रत्याभूति गराउन आग्रह गरिन् ।
आर्थिक अवस्था कमजोर भएका र सहयोग गर्ने परिवारका सदस्य नभएका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालनी हुन लागेको हो । शारीरिक अशक्तता भएका कारण, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य सहित सर्वेक्षणको काम प्रारम्भ भएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका अनुसार सर्वेक्षणमा जाने नर्सिङ् कर्मचारीहरुलाई ५ दिनको अभिमुखीकरण प्रदान गरिसकिएको छ । यस्तै सर्वेक्षणका क्रममा स्वास्थ्य जाँच गर्ने साधन तथा उपकरण प्रदान गरिसकिएको छ ।
यो सेवामा औषधि व्यवस्थापन र पोषण परामर्श गरिनेछ । मानसिक र सामाजिक अवस्था बलियो बनाउन घरपरिवार भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन हुनेछ। यस्तै, दीर्घ रोग नियन्त्रण गर्ने प्रयास गरिन्छ । आकस्मिक अवस्थाका लागि छिटो उपचार पाउने रिफरल प्रणाली विकास गरिन्छ । कार्यक्रमका उद्देश्यका विषयमा स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. ले जानकारी दिए । यस्तै व्यायाम, मानसिक स्वास्थ्य, सरसफाइका विषयमा परामर्श दिइन्छ । यसरी संकलन गरिएको तथ्याङ्कका आधारमा भविष्यमा ज्येष्ठ नागरिकका जोखिम न्यूनीकरणका बजेट, योजना तथा कार्यक्रम तर्जुमालाई वास्तविक बनाउने महानगरको अपेक्षा छ ।
कार्यक्रमका फोकल पर्सन अस्पताल नर्सिङ् निरीक्षक कल्पना श्रेष्ठ भन्छिन्, ‘ज्येष्ठ नागरिकलाई सजिलै भेट्न र आवश्यकता अनुसार कुरा गर्ने वातावरणका लागि वडा कार्यालय र महिला स्वास्थ्य स्वयमसेविकासँग समन्वय गर्नेछौँ । उहाँहरुसँग ज्येष्ठ नागरिक रहनु भएको घरमा रहने वा छिमेकीबाट पनि सहयोग आवश्यक हुन्छ । यो सहयोग पाउने आशा गरेका छौँ ।’
