सरकार स्वास्थ्य क्षेत्रबाट भाग्न मिल्दैन : प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिँदै प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई गम्भीर हुन आग्रह गरेका छन् । शनिबार (माघ १७) काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ का मतदातासँगको भेटघाटपछि उनले आफ्नो कार्यकालमा स्वास्थ्य बिमालाई उच्च प्राथमिकतामा राखेर काम गरेको स्मरण गराए ।
पौडेलले पछिल्लो समय केही स्थानमा स्वास्थ्य बिमा सेवा बन्द हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारले नागरिकलाई स्वास्थ्य सेवा दिन नसक्ने अवस्था आएमा वैकल्पिक स्रोत परिचालन गर्ने स्पष्ट खाका आफूहरूले पहिल्यै प्रस्तुत गरिसकेको बताए । पूर्वप्रधानमन्त्रीलाई पटक–पटक आग्रह गर्दा पनि उक्त योजना कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो ।
उनले पछिल्ला सरकारहरूले समेत स्वास्थ्य बिमा कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिए । हाल स्वास्थ्य बिमा कार्यक्रम गम्भीर आर्थिक संकटमा परेको उल्लेख गर्दै सेवाप्रदायक केही अस्पतालहरूले बक्यौता भुक्तानी नपाएको भन्दै सेवा बन्द गर्ने घोषणा गरिसकेको बताए ।
आफ्नो कार्यकालमा बिमाको दायरा विस्तार गर्दै सुविधा एक लाखबाट पाँच लाख रुपैयाँसम्म पुर्याउने प्रस्ताव र योगदानमा आधारित प्रणाली लागू गर्ने प्रयास गरिएको भए पनि हाल कार्यक्रम नै जोखिममा परेको पौडेलको भनाइ छ ।
