दुर्गा प्रसाईंको चुनौती : ‘ओ आईजीपी सा’ब मलाई झुण्ड्याऔँ, म झुण्डिन तयार छु (भिडियो)
काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंको समूहले चितवनमा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भोलि (सोमबार) प्रदर्शन गर्दैछ ।
त्यसअघि उनलाई नेपाल प्रहरीले आइतबार बोलायो र केरकार गर्यो । केरकारपछि छाडिएका उनी प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग क्रोधित सुनिए । आफूलाई झुण्ड्याउन कार्कीलाई चुनौती दिए ।
‘ऊ यहाँ तल खरीको बोट छ क्या, पहिले शुक्रराज शास्त्रीहरूलाई झुण्ड्याएको, उनले आक्रोश पोख्दै महानिरीक्षक कार्कीलाई भने, ‘म यहाँको एसएसपी सा’ब र पुलिसका आईजीपी दानबहादुर कार्कीलाई भन्छु, ओ ! मलाई लगेर त्यहाँ झुण्ड्याओ ।’
उनले नेपाल बचाउन र राजसंस्थासँगै हिन्दुराष्ट्र फर्काउन आफू झुण्डिन तयार भएको बताए । उनले प्रदर्शनमा चितवनवासी जनतालाई साथ दिन आग्रह पनि गरे ।
केन्द्रीय सुरक्षा समितिले प्रसाईं समूहलाई आगामी निर्वाचनमा ‘मुख्य चुनौती’को रूपमा किटान गरिसकेको छ ।
प्रसाईं समूहले चुनाव भाँड्न सक्ने भन्दै प्रहरीले उच्च निगरानी गरिरहेको छ । यसबीच सोमबार प्रहरीले उनलाई बोलाएर शान्तिपूर्ण ढंगले प्रदर्शन गर्न सुझाएको जनाएको छ । प्रसाईं समूहले निर्वाचनलाई बहिष्कार गरेको छ ।
