`

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

Nepal One HD १८ माघ २०८२ २०:०९
समाचार

कर्णाली। लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान (जनपद) पदको लिखित परीक्षामा सहभागी १२ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

शनिबार भएको जवान पदको लिखित परीक्षामा अर्काका नाममा परीक्षा दिइरहेका १२ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको छ ।

उक्त परीक्षामा सक्कली परीक्षार्थीको सट्टामा नागरिकता र प्रवेशपत्रमा फोटो तथा हस्ताक्षर बदली कीर्ते गरी परीक्षा दिइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा जाजरकोट छेडागाड नगरपालिका–११ का १९ वर्षीय केशव थापा र वडा नं १० का १९ वर्षीय चन्द्र शाह, कुसे गाउँपालिका–२ का १९ वर्षीय विपेश सिंह, १८ वर्षीय सूर्यकिरण शाही, २१ वर्षीय निरज शाही, २३ वर्षीय नवराज विक, जाजरकोटको कुसे गाउँपालिका–२ घर भई हाल सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ बस्ने २६ वर्षीय पूर्णबहादुर सिंह र जुनीचाँदे गाउँपालिका–१ का १८ वर्षीय ललित रावल रहेको छन् ।

यस्तै, दुल्लु नगरपालिका– १ दैलेखका १८ वर्षीय रमेश नेपाली, सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सुर्खेतका २४ वर्षीय वीरबहादुर ठाडा, बैजनाथ गाउँपालिका–२ बाँकेका २४ वर्षीय रामु कार्की र वडा नं १ का २५ वर्षीय मोतिलाल थारू रहेको सूचना अधिकारी बुढ्थापाले जानकारी दिनुभयो ।

घटनामा संलग्न अन्य व्यक्ति तथा गिरोहको खोजीकार्य भइरहेको र पक्राउ परेका १२ जनामाथि लिखत कीर्ते तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *