‘ऋषि धमला स्टाइलमा सोधिन्छ मलाई– यो केपी ओलीको तानाशाह भयो, तपाईंको जवाफ के छ ?’
काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएको विषयमा आफूलाई ओलीविरुद्ध उचाल्न खोजेर हैरानी पारेको बताएका छन् ।
त्यसरी हैरानी पार्ने पार्टी कार्यकर्तादेखि पत्रकारसम्म रहेको बताए । पार्टीभित्र विमति खडा गर्ने पात्रको रूपमा आफूलाई उभ्याउन खोजेको भन्दै असन्तुष्टि जनाए ।
‘कतिपय मानिसहरूले हाम्रो पार्टीभित्र विमती खडा गर्ने कोशिस गर्छन्, त्यसको एउटा पात्र मलाई बनाउँछन्,’ उनले भने, ‘तैंले त टिकट पाइनस्, यो त केपी ओलीको तानाशाह भयो, कमरेड तपाईंको जवाफ के छ ? भनेर ऋषि धमला स्टाइलमा सोध्छन् मलाई । आज बिहानै यहाँ आउनुभन्दा अघि त्यस्तै जवाफ दिएर आएको हुँ एउटा रेडियोमा ।’
काठमाडौंका बाटोमा हाँसीखुसी हिँडिरहँदा पनि टिकटकै विषयलाई लिएर आफूमाथि प्रश्न गर्ने गरिएको बताए ।
‘म काठमाडौंका बाटोमा एकदम मजाले हाँसीहाँसी हिँडिरहेको हुन्छु, उज्यालो मुख लगाएर, तपाईंले पनि देख्नुभयो नि मेरो मुख अँध्यारो छैन, उज्यालो छ हेर्नु न,’ उनले भने, ‘अनि मलाई भन्छन्, हैन टिकटसिकट खोसिसक्यो, तँ चाहिँ यहाँ मजाले हाँस्दै हिँड्याछस् । कोट्याउन खोज्छन् क्या कोट्याउन ।’
उनले गत मंसिरमा भएको पार्टी महाधिवेशनमा भएको प्रतिस्पर्धाको नतिजालाई स्वीकारेको र अध्यक्ष ओलीसँग विमती नभएको स्पष्ट पारे ।
आइन्दा आफूलाई जिस्क्याउन नआउन पत्रकारहरूलाई भट्टराईले आग्रह गरे ।
