मन्त्रीहरू चुनावमा गएपछि प्रधानमन्त्री कार्कीले भनिन् ‘दोष मलाई दिनुहोस्’ (भिडियो)
काठमाडौं । अन्तरिम सरकारका केही मन्त्रीहरू पदबाट बाहिरिएर चुनावी राजनीतिमा सक्रिय भएपछि राजनीतिक वृत्तमा प्रश्न उठिरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले ती मन्त्रीहरूलाई बेइमान ठहर गर्न नमिल्ने बताएकी छन् ।
प्रधानमन्त्री कार्कीका अनुसार अन्तरिम सरकार गठनका बेला जेन–जी समूहको दबाबका कारण केही व्यक्तिलाई मन्त्रिपरिषद्मा समेटिएको थियो र उनीहरू भविष्यमा राजनीतिमा जाने सम्भावना रहेको कुरा सरकारलाई पहिल्यै थाहा थियो ।
‘बेइमानी त्यहाँ हुन्छ, जहाँ सरकारमा बसिबसी चुनाव लडिन्छ, ‘प्रधानमन्त्री कार्कीले भनिन्, ‘तर, सरकार छाडेर गइसकेका, जसलाई हामीले विदाइ गरेर शुभकामना दिइसकेका छौँ, उनीहरूलाई बेइमान भन्न सकिँदैन ।’
भदौ २७ गते शपथ ग्रहण गरेपछि केही समय मन्त्रिपरिषद् गठन हुन नसकेको प्रसंग उल्लेख गर्दै उनले दलबाहिरबाट व्यक्ति खोज्नुपर्ने अवस्था आएको बताइन् ।
त्यस क्रममा जेन–जी पक्षबाट कुलमान घिसिङ, महावीर पुनलगायत नामलाई अनिवार्य रूपमा मन्त्रिपरिषद्मा राख्न दबाब आएको उनको भनाइ छ ।
उनका अनुसार त्यतिबेला कुलमान, महावीरलगायत मन्त्रिपरिषद्मा आउन इच्छुकसमेत थिएनन् । तर, तत्काल सरकार गठन गर्नैपर्ने अवस्था र जेन–जीको दबाब स्वीकार्नुपर्ने हुनाले उनीहरूलाई हातै जोडेर जतिञ्जेल सरकारमा बस्ने, बसिदिनुपर्यो भनेको खुलाइन् ।
सञ्चारमन्त्री जगदीश खरेल र बब्लु गुप्ता पनि जेनजीको दबाबमा मन्त्रिपरिषद्मा आएका व्यक्तिहरू भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले उनीहरू लोकप्रिय प्रकृतिका र राजनीतिमा जाने सम्भावना रहेको कुरा सरकारलाई पहिल्यै जानकारी रहेको बताइन् ।
मन्त्रिपरिषद् गठनकै क्रममा सम्बन्धित व्यक्तिहरूसँग स्पष्ट समझदारी गरिएको उल्लेख गर्दै उनले भनिन्, ‘मैले उनीहरूलाई जुन दिन जानुहुन्छ, म बकाइदा बिदाइ गर्छु, आरामसँग जानुहोस्, चुनाव लड्नुहोस् भनेकी थिएँ ।’
प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारको उद्देश्य सरकार सञ्चालन र निर्वाचन प्रक्रिया सहज बनाउनु रहेको उल्लेख गर्दै मन्त्रीहरू पद छाडेर चुनावमा जानुलाई अनैतिक ठहर गर्न नमिल्ने तर्क गरिन् । ‘दोष लगाउनु छ भने मलाई लगाउनुहोस्,’ उनले भनिन्, ‘उनीहरूलाई होइन ।’
उनका अनुसार ती मन्त्रीहरू राजनीति गर्न सक्ने उमेर, संस्कार र क्षमता भएका व्यक्तिहरू हुन् ।
राजनीतिकवृत्तमा अन्तरिम सरकारका मन्त्रीहरू चुनाव गर्न छाडेर राजनीतिमा आएको भन्दै आलोचित हुँदा प्रधानमन्त्री कार्कीले दोषको भारी बोक्ने भनेकी हुन् ।
