‘कानुन व्यवसायी हुँ’ भन्दै १४ लाखभन्दा बढी ठगी गर्ने एक महिलासहित दुई जना पक्राउ
गण्डकी, १९ माघ : रोजगारीका लागि विदेश पठाउने वहानामा ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमार्फत विदेश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पोखरा महानगरपालिका–१९ लामाचौरकी ३४ वर्षीया कल्पना नहर्की पौडेल र मुगुको खप्तड गाउँपालिका घर भई हाल पोखरा बस्ने २८ वर्षीय वीरेन्द्र रावतलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
पौडेलले आफू कानुन व्यवसायी रहेको र पोल्याण्डमा श्रीमानले सञ्चालन गरेको होटलमा कामदारका रुपमा लैजाने भन्दै ११ जनालाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । रु दस हजारदेखि रु दुई लाखसम्म गरी कूल १४ लाख ६० हजार ठगी गरेको जाहेरी प्रहरीमा परेको थियो । दुवै जनामाथि आपराधिक विश्वासघात तथा आपराधिक लाभको मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रनाउ बस्नेतले बताउनुभयो ।
