`

बालेनलाई लक्षित गर्दै एमाले उपाध्यक्षले भने : त्यस्तो व्यक्तिको हातमा मुलुकको शासन गयो भने के होला ?(भिडियो)

Nepal One HD २० माघ २०८२ १४:५१
निर्वाचन विषेश

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीमा प्रस्ताव गरेका बालेन्द्र शाह (बालेन)को कडा आलोचना गरेका छन् ।

बालेनलाई जनतासामु ‘फेस गर्न नसक्ने’ व्यक्ति भन्दै गुरुङले बालेनसँग देश निर्माणको स्पष्ट भिजन, नीति र कार्यक्रम केही नभएको बताए ।

बालेनले देशको शासन सम्हालेमा गम्भीर परिणाम देखिन सक्ने उनको चेतावनी छ । ‘त्यस्तो व्यक्तिको हातमा मुलुकको शासन गयो भने के होला, एकपटक कल्पना गरौँ,’ उनले भने, ‘मुलुकमा अस्थिरता सुरु हुन्छ, अराजकता फैलिन्छ र चुनावपछि देश फेरि अस्तव्यस्त बन्छ, भदौको जस्तो अवस्था दोहोरिन सक्छ ।’

उपाध्यक्ष गुरुङले देशमा अहिले राजनीतिक र क्षेत्रीय स्थिरता आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि अनुभवी र जिम्मेवार नेतृत्व अपरिहार्य हुने बताए ।

‘हामीले खोजेको राजनीतिक स्थिरता हो, क्षेत्रीय स्थिरता हो र मुलुकको स्थिरता हो,’ उनले भने ।

देशमा पुराना र नयाँ दल र नेताको गलत भाष्य स्थापित गर्न खोजिएको भन्दै प्रतिवाद गरे ।

‘नयाँ अनुहार खोजेको होइन जनताले, जनताले सुधारिएका पार्टीहरू, सच्चिएका पार्टीहरू, परिस्कृत भिजनसहित, कार्यक्रमसहित, नीतिसहित आजको नेपालको चुनौतीहरू सामना गर्न सक्ने परिपक्व अनुभवी पार्टी र नेताहरू खोजेका हुन्,’ रास्वपालाई लक्षित गर्दै उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *