एमाले जत्तिको राम्रो पार्टी अरू छैन : डा. राजन भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव तथा काठमाडौं क्षेत्र नम्बर– ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले संसद् पुनःस्थापना लोकतन्त्र र संविधानलाई सहज बाटोमा फर्काउने उपाय भएको धारणा व्यक्त गरेका छन् ।
प्रेस चौतारी नेपालले बुधबार आयोजना गरेको काठमाडौं उपत्यकाका उम्मेदवारहरूसँगको पत्रकार सम्मेलनमा बोल्दै उनले एमाले नीतिगत रूपमा अहिले पनि संसद् पुनःस्थापनाको पक्षमा रहेको स्पष्ट पारे ।
‘यसले लोकतन्त्र र संविधान सहज बाटोमा फर्कन्छ भन्नेमा हामी विश्वस्त छौँ,’ उनले भने ।
यद्यपि उनले जनताबाट अनुमोदित हुन निर्वाचनमा जाने प्रक्रियाबाट एमाले कहिल्यै नभाग्ने पनि स्पष्ट पारे ।
‘जनताबाट अनुमोदित हुन निर्वाचनमा जाने कुराबाट एमाले भाग्दैन’, उनले भने ।
डा. भट्टराईले काठमाडौं उपत्यकाका अधिकांश सिटमा एमालेले जित हासिल गर्ने विश्वास व्यक्त गरे ।
उनले मतदातालाई कुनै उत्तेजनामा नआई विवेकपूर्ण भावनाका साथ मतदान गर्न अनुरोध गर्दै लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी नागरिककै हातमा रहेको बताए ।
‘त्यो विवेक पुर्याउँदा एमाले जत्तिको पार्टी अरू छैन,’ उनले भने, ‘सोही अनुसारको विवेक मतदाताले पुर्याउनु हुनेछ भन्ने विश्वास छ ।’
डा. भट्टराईले आगामी निर्वाचनलाई लोकतन्त्र र संविधानलाई सही दिशामा अघि बढाउने अवसरका रूपमा लिन आग्रह गरे ।
