‘काठमाडौंको सुकुम्वासी बस्तीमा डोजर चलाउने बालेनबाट सुकुम्वासी समस्या समाधान हुँदैन’
झापा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री देवेन्द्र दाहालले काठमाडौंमा डोजर चलाएर खेदाउने बालेन शाहबाट सुकुम्वासी समस्या समाधान नहुने बताएका छन् ।
झापा–५ मा पर्ने कमल गाउँपालिकामा रहेको सुकुम्बासी बस्तीमा पुगेर बालेनले सुकुम्बासी समस्या चाँडै समाधान गर्ने भन्दै दिएको आश्वासनको प्रतिवाद गर्दै दाहालले यस्तो भनेका हुन् ।
उनले अध्यक्ष केपी शर्मा ओलीको सरकारको पालामा देशैभरी सुकुम्वासी र अब्यवस्थित बसोवासीको समस्या समाधान गर्न सुकुम्वासी आयोग बनाएर धेरैलाई धनिपुर्जा वितरण गरेको पनि बताए ।
बुधबार झापाको दमकमा अखिल नेपाल महिला संघ दमक नगर समितिले आयोजना गरेको नगरस्तरीय छलफलमा बोल्दै उनले बालेनलाई लक्षित गर्दै निर्वाचनको सम्मुखमा एक जना उम्मेदवारले निर्वाचन आचारसंहिता विपरीत जनतालाई झुट्टा आश्वासन दिनु गलत भएको उल्लेख गरे ।
ओलीको नेतृत्वमा झापामा सञ्चालित ठूलाठूला योजनाको बजेट कटौती गरेर कार्की सरकारले जनतालाई मुर्ख बनाउने काम गरिरहेको आरोप लगाए ।
झापामा सञ्चालन भइरहेका नेपालको गौरवका योजनामध्येको चीन–नेपाल मैत्री औद्योगिक पार्क, दमक व्यावसायिक भवन सञ्चालन र सोही आसपास क्षेत्रको १०० बिगाहामा गरिने टाउन प्लानिङको बजेटसमेत कटौती गरेको भन्दै उनले आक्रोश पोखे ।
कार्की सरकारले दमकमा नै निर्माण सम्पन्न भएको दमक सभाहल, दमक–रवि–चिसापानी सडक निर्माण, मदन भण्डारी रंगशाला निर्माणलगायतका योजनाको बजेट अघिल्लो महिना कटौती गरेको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै दाहालले झापाली जनतालाई बालेनले झुक्याएर गलत आश्वासन बाँडिरहेको टिप्पणी गरे ।
कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य गीता अधिकारीले देश कुनै योजना र कानुनबिना चलिरहेको बताएकी छन् । उनले पनि नेता दाहालले जस्तै ओली सरकारका पालामा विनियोजित बजेट वर्तमान सरकारले कटौती गरेको प्रति असहमति जनाइन् ।
अनेमसंघकी झापा अध्यक्ष लिला ढुङ्गेल दाहालले झापा–५ का रास्वपा उम्मेदवार बालेनलाई सोधिन्, ‘काठमाडौं महानगरपालिकामा ५ वर्षको कार्यकाल पूरा नगरी किन झापा आउनुभयो ? महानगरका हजारौँ सुकुम्वासी किन उठाउनुभयो ?’
उनले काठमाडौंमा सडक क्षेत्रमा व्यापार गरेर बस्ने सयौँ गरिबको बालेनले उठिवास गरेको भन्दै आलोचना गरिन् ।
