३० हजार बढी मतले अध्यक्ष केपी शर्मा ओलीज्यू सानदार मतले जितेर आउनुहुन्छ : बस्नेत (भिडियो)
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट ३० हजार बढी मतान्तरले विजयी हुने दाबी गरेका छन् । उनले ओलीको सानदार विजयी हुनेमा ढुक्क रहेको बताए ।
रास्वपाबाट भावी प्रधानमन्त्रीका उम्मेदवार प्रस्तावित रहेका बालेन्द्र शाह ‘बालेन’सँग मिलाएको भिड रहेको दाबी गर्दै उनले भने, ‘झापामा त उहाँले जित्ने भन्ने कुनै सम्भावना देख्दिनँ । ३० हजार बढी मतले हाम्रो अध्यक्ष केपी शर्मा ओलीज्यू सानदार मतले जितेर आउनुहुन्छ ।’
बालेनलाई लोकप्रियतावादीको संज्ञा दिँदै लोकतप्रियतावादीले जहाँ जे बोल्दा फाइदा हुन्छ, सोहीअनुसार बोल्ने गरेको बताए ।
माधवकुमार नेपाल नेतृत्वको सरकारमा सामान्य प्रशासनमन्त्री भएका रवीन्द्र श्रेष्ठ भक्तपुरमा जाँदा थामिनसक्नुको भिड देखिएको तर १० हजार जति मात्रै भोट ल्याएर हारेको प्रसङ्ग जोड्दै उनले बालेनको हालत त्यस्तै हुने तर्क गरे ।
बालेनले आफूलाई मधेस गएर मधेसको ‘मसिहा’को रूपमा प्रस्तुत गरेको भन्दै बस्नेतले आलोचना गरे ।
‘उखु किसानहरू यहाँ आए, मिटरव्याजी (पीडित)हरू यहाँ आए, शहीद मञ्चमा बास बस्नुपर्यो, टेन्ट हाल्छौँ भनेर ढोका खोल्नु भन्दा मान्नुभएन, महानगरपालिकामा पानी खुवाउनु भएन, उहाँले कवाडी व्यवसायी जति सबैलाई लखेट्नुभयो,’ उनले भने, ‘तर, उहाँ मधेसको महिसा हुँ, म मधेसको छोरा हुँ भनेर हिँड्नुभएको छ । अब सिके राउत, रघुवीर महासेठदेखि लिएर उपेन्द्र यादवदेखि सबैले त्यसको काउन्टर दिनुभएको छ ।’
बालेनले काठमाडौं महानगरवासीलाई धोका दिएको पनि उनको आरोप छ । पाँच वर्षका लागि आएका उनी तीन वर्षमै महानगरको नेतृत्वदेखि पछि हटेको भन्दै आलोचना गरे ।
