चुनावको दिन हिउँ परे के गर्छ सरकारले ? (भिडियो)
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी २१ फागुनमा हिउँ नपरे हिमाली क्षेत्रमा निर्वाचन गराउन समस्या नहुने बताएका छन् । तर, हिउँ परे पनि सोहीअनुसार निर्वाचनको तयारी गरिने उनको भनाइ छ ।
उनका अनुसार हिमाली जिल्लामा दार्चुला मोडलमा निर्वाचन गराउन सकिने पनि बताए ।
‘दार्चुलाको हिमाली भेगबाट मतदाताहरूले खलङ्गा बजारमा बसाइँसराइ गरेको र सदुरमुकाममै मतदान केन्द्र स्थापना गरेर मत हाल्ने गरेको अभ्यास रहेको जानकारी पाएको छ, हिउँ परेको बेला,’ उनले पत्रकारहरूसँग भने, ‘हिँउ परेन भने केही गर्नुपर्दैन । हिउँ परे त्यही अनुसारको व्यवस्थापन गर्छौँ ।’
दार्चुलाको कालापानी, लिम्पियाधुरा र लिपुलेकमा भने यसपटक पनि मतदान नहुने भएको छ । यी तीनवटै भूमि पाँच वर्षअघि सरकारले नेपालको नक्सामा समेटिएको थियो । तर, त्यहाँका मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार त्यस क्षेत्रका मानिसहरूको नाम मतदाता नामावलीमा नरहेको बताएका छन् ।
