`

गाली–गलौज गरेर राजनीति सफल हुँदैन : थापा

Nepal One HD २३ माघ २०८२ १४:१५
निर्वाचन विषेश

ओखलढुंगा। ओखलढुंगाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अस्मिता थापाले कसैलाई गाली–गलौज गरेर राजनीति सफल नहुने बताएकी छिन्। नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत रहेकी थापाले शुक्रबार ओखलढुंगामा आयोजित पत्रकार सम्मेलनमा आरोप–प्रत्यारोपभन्दा सकारात्मक एजेण्डाका साथ जनतामाझ जाने स्पष्ट गरिन् ।

‘म चुनावी मैदानमा जाँदै गर्दा कसैलाई गाली गर्ने, आरोप–प्रत्यारोप गरेर ओखलढुंगाको माटो बदनाम गर्ने पक्षमा छैन,’ उनले भनिन्, ‘हामीले मुद्दा र दृष्टिकोणबाट प्रतिस्पर्धा गर्नुपर्छ।’

उनले आफू युवा पुस्ताकै प्रतिनिधि भएकाले समयको पदचाप र नयाँ पुस्ताको भावना अन्य उम्मेदवारभन्दा नजिकबाट बुझेको दाबी गरिन्। ‘युवा पुस्ता के चाहन्छ भन्ने कुरा मैले आफैँ त्यही पुस्ताको भएकाले राम्रोसँग बुझेकी छु,’ उनको भनाइ थियो।

गाउँपालिका उपाध्यक्षका रूपमा काम गर्दा स्थानीय समस्या नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै उनले विशेष गरी महिला, आमा–दिदीबहिनीका पीडा र आवश्यकताबारे आफू संवेदनशील रहेको बताइन्। ‘गाउँमा बसेर यहाँका समस्या र समाधानका उपाय नजिकबाट देखेकी छु, अब मैले देखेका र भोगेका विषयलाई विधि निर्माणको थलोमा पुर्‍याएर जनताको आवाज बोल्नेछु,’ उनले भनिन्।

अग्रज नेताहरूले थालेका अधुरा विकास आयोजना पूरा गर्ने तथा मानवीय पुँजी विकासलाई प्राथमिकता दिने योजना आफूले अघि सारेको उनले जानकारी दिइन्। व्यावसायिक तथा रोजगारमूलक शिक्षा र आधारभूत स्वास्थ्य सेवा आफ्नो मुख्य प्राथमिकता रहेको उनको भनाइ थियो।

पत्रकार सम्मेलनमा पार्टीका जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले विगतमा अघि सारिएका र सम्पन्न हुन बाँकी रहेका विकास आयोजना अब युवा उम्मेदवार अस्मिता थापाको नेतृत्वमा टुङ्गिने विश्वास व्यक्त गरे। समयको मागअनुसार स्वच्छ छवि र जुझारु युवा नेतृत्वलाई पार्टीले उम्मेदवार बनाएको उनले बताए । ‘आठवटै पालिका र वडामा पुग्दा हाम्रो उम्मेदवारप्रति जनताको अपार समर्थन देखिएको छ,’ उनले दाबी गरे।

टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै केही व्यक्तिले पार्टी छाडे पनि त्यसको प्रभाव न्यून रहेको उनको भनाइ छ। ‘जिल्ला नेतृत्वसँग असन्तुष्ट भएर निष्क्रिय बसेका धेरै साथीहरू अहिले पार्टी जिताउन एकजुट भएका छन्,’ सुनुवारले उल्लेख गरे।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *