`

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि आचारसंहिता पालना गर्ने प्रतिबद्धता

Nepal One HD २३ माघ २०८२ २०:२५
निर्वाचन विषेश

कञ्चनपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न कञ्चनपुरका राजनीतिक दल, उम्मेदवारलगायत सरोकारवालाले आचारसंहिता अक्षरशः पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

झलारीमा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ कार्यालयले आयोजना गरेको निर्वाचन आचारसंहिता २०८२ को कार्यान्वय र पालनासम्बन्धी अन्तक्र्रियाका सहभागी सबै पक्षले स्वच्छ निर्वाचन लोकतन्त्रको आधार भएकाले यसको सफलताका लागि सहकार्य अपरिहार्य रहेकामा एकमत जनाएका हुन् ।

सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले निर्वाचन हुने विषयमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो । निर्वाचनका लागि आवश्यक पूर्वतयारीका सबै काम पूरा भइसकेको जानकारी दिँदै उहाँले निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका तीनै अङ्ग परिचालन भइसकेको बताउनुभयो ।

“सुरक्षाको विषयमा चिन्ता गर्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “कुनै पनि घटना घट्दै गरेको जानकारी प्राप्त भएमा तत्काल सुरक्षा निकाय परिचालन गर्ने व्यवस्था गरिएको छ ।”

जिल्लाका मुख्य निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले निर्वाचनको विकल्प निर्वाचन नै भएकाले सबै पक्षको सहकार्यमा स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्नुभयो ।

सभ्य समाज निर्माणका लागि सामाजिक शिष्टाचार जोगाउन आचारसंहिता पालना अनिवार्य रहेको उहाँको भनाइ थियो । हालसम्म निर्वाचन कार्यालयमा गम्भीर प्रकृतिका आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी नआएको जनाउँदै उहाँले कतै उल्लङ्घन भएमा उजुरी दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले सरकारी सवारीसाधनको दुरुपयोग रोक्नुपर्ने, उम्मेदवार तथा जनप्रतिनिधिको सुरक्षाको सुनिश्चित गर्नुपर्ने, सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्नुपर्ने र मतदाताले स्वविवेकले मतदान गर्न पाउने वातावरण कायम गर्नुपर्ने माग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *