कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ
काठमाडौँ। नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले बिधानअनुसार केन्द्रीय अनुशासन समिति गठन गर्ने निर्णय गरेको हो ।
समितिको सदस्यमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल रहनुभएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
बैठकमा महामन्त्री गुरुराज घिमिरेले बैठकका लागि निर्धारित प्रस्तावहरू पेस गर्नुभएको थियो । बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका ०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका ०८२’ लाई परिमार्जनसहित पारित गरेको छ ।
बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा डिला सङ्ग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा, योगेन्द्र चौधरी र प्रवक्ता देवराज चालिसेले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
