काठमाडौं । कपिलवस्तुको तिलौराकोट क्षेत्रमा नेपालको इतिहासमै पहिलो पटक अप्सिडल (घुमाउरो पर्खालयुक्त) बौद्ध मन्दिरको संरचनात्मक उदाहरण फेला परेको छ।
पुरातत्व विभागले लुम्बिनी विकास कोष र बेलायतको डरहम विश्वविद्यालयअन्तर्गत युनेस्को अध्यक्षका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको संयुक्त टोलीमार्फत गरिएको उत्खननबाट उक्त महत्वपूर्ण खोज भएको जनाएको हो।
बुधबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विवरणअनुसार दक्षिण एसियाकै उत्कृष्ट रूपमा संरक्षित प्रारम्भिक ऐतिहासिक सहरमध्ये एक मानिने तिलौराकोट-कपिलवस्तु नगरभित्रै अप्सिडल शैलीको मन्दिर पहिचान गरिएको हो। यसअघि नेपालमा यस्तो संरचनाको प्रमाण भेटिएको थिएन।
अप्सिडल मन्दिरहरू घुमाउरो पर्खालले धार्मिक केन्द्र परिभाषित गर्ने विशेष वास्तुशैलीका रूपमा चिनिन्छन्। संरचनाको अर्को छेउमा प्रवेशद्वारसहितको प्लेटफर्म रहने विशेषता हुन्छ। दक्षिण एसियामा यस शैलीका प्रारम्भिक उदाहरणहरू चट्टान काटेर बनाइएका थिए भने पछिल्ला संरचनाहरू ढुङ्गा, काठ वा इँटाबाट निर्माण गरिएका थिए।
पुरातत्व विभागका अनुसार तिलौराकोटमा फेला परेको मन्दिरले सोही संरचनात्मक लेआउट पछ्याए पनि यसको अवस्थिति असामान्य छ। प्रायः छुट्टै धार्मिक परिसरमा निर्माण हुने यस्तो मन्दिर यहाँ भने सहरभित्रै, त्यो पनि पुरानो दरबार (महल) परिसरका अवशेषमाथि निर्माण गरिएको देखिएको छ। यसलाई दुर्लभ उदाहरणका रूपमा व्याख्या गरिएको छ।
उत्खननका क्रममा ठूलो संख्यामा तेलबत्ती र अन्य पूजासम्बन्धी सामग्री फेला परेका छन्। यसले उक्त स्थल प्राचीनकालमा तीर्थयात्री र भक्तजनहरूको धार्मिक गतिविधिको केन्द्र रहेको संकेत गर्छ। अनुसन्धानकर्ताहरूका अनुसार तिलौराकोट-कपिलवस्तु केवल प्रशासनिक वा राजकीय केन्द्र मात्र नभई महत्वपूर्ण धार्मिक स्थलसमेत रहेको प्रमाण बलियो बन्दै गएको छ।
यो खोजसँगै तिलौराकोट-कपिलवस्तुको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व अझ उजागर भएको पुरातत्वविद्हरूको भनाइ छ। विशेषज्ञहरूका अनुसार यसले नेपालको प्राचीन बौद्ध वास्तुकला र धार्मिक अभ्यासबारे नयाँ बहस र थप अनुसन्धानको ढोका खोलेको छ।
