`

वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैन : संयोजक दाहाल

Nepal One HD २८ माघ २०८२ २१:२२
राजनीति

ढोरपाटन (बागलुङ), २८ माघ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प नभएको बताउनुभएको छ ।

आज यहाँ आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुलुक अप्ठ्यारो अवस्थामा रहेको हुँदा यसको निकास निर्वाचनले मात्रै दिने बताउनुभयो । केही दलहरुले संसद् पुनःस्थापना र सर्वदलीय सरकार गठनका मुद्दा उठाए पनि नेकपाले त्यतापट्टि ध्यान नदिएको संयोजक दाहालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो हामीहरुले चाहेर आएको निर्वाचन होइन, हामीहरुले त २०८४ मा गएर गर्ने भन्ने सोचेका थियौँ, असाधारण परिस्थितिमा आइपरेको निर्वाचन हो, यो निर्वाचनलाई सदुपयोग गर्नुको विकल्प पनि छैन, इमानदार कम्युनिष्ट र देशभक्तहरुको अगाडि जनतामा जाने बलियो माध्यम निर्वाचन नै हो ।”

मुलुकको अहिलेको परिस्थिततिमा देशमा भएका वामपन्थी र देशभक्त एकताबद्ध हुने उद्देश्यले नेपाली कम्युनिष्ट पार्टी बनाएको दाहालले बताउनुभयो । अहिले देखिएको असहज परिस्थितिबाट देशको रक्षा गर्ने, लामो सङ्घर्ष र बलिदानीबाट प्राप्त गरेका उपलब्धिहरुको रक्षा गर्न नेकपा प्रतिबद्ध भएर लागेको उहाँले उल्लेख गर्नुभयो ।

जेनजी आन्दोलन देशलाई भ्रष्टाचारमुक्त गर्न, सुशासन स्थापित र नागरिक स्वतन्त्रता कायम गर्न भए पनि देशीविदेशी शक्तिहरुको स्वार्थका कारण विध्वंश मच्चिएको संयोजक दाहालले बताउनुभयो । उहाँले अब मुलुको परिवर्तनका निम्ति वामपन्थी एक हुनुपर्ने आवश्यक छ ।”

“जेनजी आन्दोलन देशमा भ्रष्टाचार, सुशासन कायम, नागरिक स्वतन्त्रता कायम होस् भन्ने मनशायले युवा सडकमा उत्रिएका थिए, हामी सबैले सम्मान नै गरेका थियौँ, तर त्यहाँ घुसपैठ भयो”, उहाँले भन्नुभयो, “देशीविदेशी शक्तिहरुले आफ्नो स्वार्थअनुसार देशलाई विध्वंसमा बदल्ने काम भयो, त्यो हामी सबैका दुःखद् हो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *