भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन पूर्वप्रमुख रहेको काठमाडौं सर्वाधिक कमजोर
काठमाडौं । भावी प्रधानमन्त्रीको दाबेदार प्रस्तुत गर्दै प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका बालेन्द्र शाह (बालेन)ले हालै प्रमुखबाट राजीनामा दिएको काठमाडौं महानगर कार्यसम्पादन मूल्याङ्कनमा सर्वाधिक कमजोर भएको पाइएको छ । देशभरका छ महानगरपालिकामध्ये सर्वाधिक कमजोर महानगरपालिका काठमाडौं हुनुले उनको शासकीय क्षमतामाथि प्रश्न उठेको छ ।
राजनीतिक रूपमा उच्च महत्वकांक्षा व्यक्त गर्दै उनी यतिबेला नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
महानगरजस्तो ठूलो र स्रोतसाधन सम्पन्न स्थानीय सरकारको कार्यसम्पादनमै प्रश्न उठेपछि संघीय शासन सञ्चालन गर्न सक्ने उनको क्षमताबारे पनि शंका गर्न थालेका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्यांकनका आधारमा काठमाडौं महानगरपालिकाले ४४ दशमलव ९७ अंकमात्र प्राप्त गर्न सकेको छ । जुन देशभरिका ६ महानगरपालिकाको तुलनामा सबैभन्दा कमजोर हो ।
सबैभन्दा अब्बल भने यस वर्ष मोरङको विराटनगर महानगरपालिका देखिएको छ । विराटनगरले ७८ दशमलव ११ अंक पाएर पहिलो स्थानमा छ ।
दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ । यो महानगरपालिकाले ७६ दशमलव ३३ प्रतिशत अंक पाएको छ । तेस्रो स्थानमा चितवनको भरतपुर महानगरपालिका छ । भरतपुरले ६८ दशमलव ०४ अंक पाएको छ ।
चौथो स्थानमा रहेको पोखराले ५८ दशमलव ०४ अंक पाएको छ । पाँचौं स्थानमा रहेको वीरगञ्ज महानगरले ५४ अंक पाएको छ । काठमाडौं छैटौं अर्थात् अन्तिम स्थानमा छ । आयोगले १७ सूचकको आधारमा मूल्याङ्कन गर्ने गरेको छ ।
१० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे’नगरेको, आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।
यसबाहेक आगामी आर्थिक वर्षको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई समेत मूल्याङ्कनको सूचक मानिएको छ ।
राजस्व परिचालन, बजेट खर्च अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोप लगाएका बालबालिकाको अनुपातसमेत मूल्याङ्कन सूचकहरू हुन् ।
