आइफोन लुट्ने ३ जना पक्राउ
अपराध
काठमाडौं । काठमाडौँको ठमेल क्षेत्रमा विदेशी पर्यटकको आइफोन लुटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
शनिबार राति भएको उक्त घटनाको सीसीटिभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी अनुसन्धानमा सक्रिय भएको थियो ।
प्रहरीका अनुसार मध्यराति करिब ११ बजेतिर ठमेलस्थित भगवान् बहाल क्षेत्रमा जर्मन नागरिकको साथबाट आइफोन लुटिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । ‘३ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौँ,’ उनले भने ।
पक्राउ पर्नेहरूमा गोरखा अजिरकोट घर भई चमती बस्ने साजन परियार, धादिङ त्रिपुरासुन्दरी घर भई चमती बस्दै आएका दीपेश परियार र बाराको निजगढ घर भई काठमाडौं बस्ने रचित चौधरी रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
