`

‘भड्किएको अनुशासन’लाई सीमाभित्र ल्याउन निर्वाचन अपरिहार्य : कावा प्रमुख आयुक्त भण्डारी

Nepal One HD १ फागुन २०८२ २०:१५
निर्वाचन विषेश

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन मुलुकको निकासका लागि विकल्पविहीन भएकाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने कार्यमा सहयोग पुर्याउन समाजका सबै तह र तप्कालाई आह्वान गर्नुभएको छ

राष्ट्रिय समाचार समिति (रासस)को ६५औँ वार्षिकोत्सव एवं विश्व रेडियो दिवसका अवसरमा आजदेखि परीक्षण सुरु भएको ‘रासस पोडकास्ट’ को शुभारम्भ गर्दै उहाँले मुलुकमा भड्किएको अनुशासनलाई लयमा ल्याउन तथा सुशासन प्रवाह गर्ने प्रयोजनका लागि यो निर्वाचन अतिआवश्यक रहेको बताउनुभयो ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, “यो निर्वाचन भड्किएको अनुशासनलाई सीमाभित्र ल्याउन र स्वच्छ जनप्रतिनिधि चयन गरी सुशासन प्रवाह गर्ने प्रयोजनका लागि हो, हामी निष्पक्ष निर्वाचन गरेर देखाउँछौँ ।” स्वच्छ र निष्ठावान उम्मेदवारलाई विजयी गराउनका लागि हुनलागेको निर्वाचन प्रक्रियामा सहभागी भई सार्वभौम अधिकारको प्रयोग गर्दै बदर नहुने ढङ्गबाट मतदान आग्रह गर्नुभयो ।

मिति घोषणापछि निर्वाचनलाई सफल बनाउन सम्पूर्ण सञ्चार जगत्ले अत्यन्तै राम्रो भूमिका खेलेको उल्लेख गर्दै प्रमुख आयुक्त भण्डारीले निर्वाचनको मिति घोषणा भएको अवस्थालाई चिरेर सबैको साझा प्रयासमा अहिलेको वातावरण बनेकाले अब निर्वाचन अर्काे विकल्प भनेको निर्वाचनमात्रै भएको धारणा राख्नुभयो ।

एउटै शताब्दीमा पटकपटक क्रान्ति, जनआन्दोलन र विद्रोह भएको प्रसङ्ग उल्लेख गर्दै विद्रोहपछि घोषणा भएको यस निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सबैबाट सहयोग हुनुपर्ने बताउनुभयो ।

निर्वाचनका लागि सरकारबाट आयोगलाई चाहिएको विषयवस्तु सम्पूर्ण उपलब्ध गराइएको बताउँदै उहाँले सोही स्रोतसाधनको परिधिभित्र रही आयोगले निर्वाचनको प्रक्रिया अघि बढाइरहेको स्पष्ट पार्नुभयो ।

जेनजी आन्दोलनपछिको अवस्थालाई संवाद र सहमतिमा ल्याउन सञ्चार जगत्लगायत सबै निकायले खेलेको भूमिका, बनेको विश्वासको वातावरण र विद्रोहको भावना त्याग्नका लागि दिएको सुझाव मननयोग्य रहेको बताउनुभयो ।

“सबैले मुलुकलाई लयमा ल्याउनुपर्छ विश्वासको वातावरणमा रहनुपर्छ, विद्रोहको भावना त्याग गर्नुपर्छ भन्नुभयो, यसमा हामी सबैको साझा दायित्व हो”, प्रमुख आयुक्त भण्डारीले भन्नुभयो, “विथोलिएको वातावरण र विद्रोहको मनस्थितिलाई सङ्ग्ल्याएर निर्वाचन सम्पन्न गर्नु सबैको साझा प्रयासको परिणाम हो ।”

निर्वाचन प्रचारप्रसारका बेला एउटा दलले अर्काे दलका लागि निषेधको राजनीति पनि गर्न सक्छ भन्नेमा सुरुआतदेखि नै सचेत रहेको बताउँदै उहाँले भन्नुभयो, “एउटा दलको नेता वा उम्मेदवारले अर्काे दलका नेता तथा उम्मेदवारलाई घृष्णास्पद अभिव्यक्ति व्यक्त गर्न सक्छन् जुन कुरा आचारसहिंताले निषेध गर्छ, त्यो गर्न पाइन्नँ ।”

सामाजिक सञ्जालबाट प्रसारण भएका कतिपय विषय झुटा पनि हुनसक्ने भएकाले सत्यतथ्यको परीक्षण गरेर मात्र सूचना तथा समाचार सम्प्रेषण गर्न आग्रह गर्दै कावा प्रमुख निर्वाचन आयुक्त भण्डारीले आफूले प्राप्त गरेको सूचना र समाचार पेसागत मर्यादा र निष्ठामा रही प्रकाशन/प्रसारण गर्न सुझाव दिनुभयो ।

एक प्रसङ्गमा उहाँले भन्नुभयो, “मतदाता शिक्षा र निर्वाचन शिक्षा भन्नेबारे सर्वप्रथम बुझ्न जरुरी छ, निर्वाचन प्रक्रियामा सामेल भइरहँदा आफूले गर्ने मतदान बदर नहुने र सदर हुने प्रयोजनका लागि दिइने मतदाता शिक्षाको विषय सधैँ पेचिलो हुन्छ । तथापि, निर्वाचन शिक्षाका बारेमा व्यापक प्रचारप्रसार गरिरएको र घरदैलोमा पुगेर शिक्षा दिइएको छ ।”

निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा सुरुमा केही दिनमा अलि चुनौती र उजुरीको सङ्ख्या उल्लेख्य रूपमा आएको बताउँदै उहाँले आचारसंहिता अनुगमनका लागि केन्द्र, प्रदेश, जिल्ला, मुख्य निर्वाचन अधिकृत, सूचना अधिकृत, सहायक निर्वाचन अधिकृत, कोष तथा लेखा नियन्त्रण कार्यालययलाई जोडेर परिपालनामा जोड दिइएको जानकारी दिनुभयो ।

“यही फागुन ४ गतेदेखि १८ गतेसम्म प्रचारप्रसार गर्न पाइन्छ, १८ गते बेलुकी १२ बजेदेखि मौन अवधि सुरु हुन्छ, त्यो बेला असाध्यै पेचिलो हुन्छ । तथापि, त्यो समयमा पनि निर्वाचन आचार संहिता परिपालना गर्न/गराउन हाम्रा अधिकारीहरू सक्षम हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

निर्वाचन आचारसंहिता पालना नगर्ने र उल्लङ्घन गर्ने ठूलो सजायको भागिदार हुने भएकाले त्यसको उल्लङ्घन नगर्न र परिपालना गरी निर्वाचन सम्पन्न गराउन आयोगको तर्फबाट गरिएको प्रमुख आयुक्त भण्डारीको भनाइ छ ।

“मौन अवधि उल्लङ्घन भएका समाचार आउँछन्, तर कहाँ त्यस्तो भयो भनेर गौडा चिहाउँदा कसैले रेकर्ड दिँदैन, उल्लङ्घन गर्ने पक्षबाट नै पनि निर्वाचन भड्किलो र महँगो भयो भनी गुनासो आउने गरेको छ”, उहाँले भन्नुभयो ।

आयोगले निर्वाचनलाई भड्किलो र खर्चिलो होइन, मितव्ययी र निष्ठाको राजनीति गर्न सुझाएको बताउँदै उहाँले आचारसंहिताको परिधिभित्र बसेर मतदाताको मन र विश्वास जित्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गर्नुभयो । यसपटकको मौन अवधिमा विगतको भन्दा फरक ढङ्गले प्रविधिको प्रयोग गरिएकाले त्यसखालका गुनासा न्यून हुने अपेक्षा गरिएको बताउनुभयो ।

चुनावको मनोनयन फिर्ता लिने अवधि सकिएपछि एकअर्का उम्मेदवारलाई समर्थन र उम्मेदवारी फिर्ता लिने कार्य मतदाताको विश्वासमाथिको कुठराघात गरेको ठहरिने धारणा व्यक्त गर्नुभयो ।

“पहिलो उमेदरवार हुने, पछि नरहने कार्य नैतिकता र आचारणसँग जोडिने विषय हो । यस्ता घटनाले चुन्ने र चुनिने अधिकारमा महँगो पर्छ । त्यस्ता उम्मेदवार पछि कुनै पनि निर्वाचन प्रक्रियामा सहभागी हुन सक्नुहुन्न । मतदाताको विश्वास टुट्छ”, उहाँले भन्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *