`

एमालेको आह्वान : समृद्धिको बाटो, सूर्यमा मत

Nepal One HD २ फागुन २०८२ १४:२५
निर्वाचन विषेश

काठमाडौं । नेकपा एमालेले आसन्न प्रतिनिधिसभा निर्वाचनमा स्थायित्व, विकास र समृद्धिको पक्षमा जनमत दिन मतदातासँग अपिल गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा ‘समृद्धिको बाटो, सूर्यमा मत’ भन्ने मूल नारासहित स्थिर र सक्षम सरकार निर्माणका लागि सूर्य चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेको हो ।

लोकप्रियतावादको भ्रमबाट सचेत रहनुपर्ने जनाउँदै एमालेले आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन र राष्ट्रिय स्वाभिमानलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ ।

पार्टीको आम निर्वाचन प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्तिमार्फत शनिबार भनेका छन्, ‘राजनीतिमा देखापर्ने लोकप्रियतावाद प्रायः भ्रमपूर्ण हुने र यसले नीति, स्थायित्व तथा सुशासनमा नकारात्मक असर पार्ने जोखिम रहन्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लोकप्रियतावादी शक्तिको रूपमा चित्रण गर्दै शाहीले विश्वभरका धेरै र एसियाका पनि धेरै देशले लोकप्रियतावादको गम्भीर समस्या सामना गरेको बताए ।

त्यसैले निकट गम्भीर समस्याबाट देशलाई जोगाउनुसँगै स्थायित्व, विकास र समृद्धिको दीर्घकालीन मार्ग रोज्न एमालेलाई स्पष्ट जनमत आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले भने, ‘एमाले सक्षम नेतृत्व र स्पष्ट दृष्टिकोणसहित राष्ट्र निर्माणमा अघि बढ्न तयार छ ।’

विज्ञप्तिमा अस्थिरता र अवसरवादले देशलाई विकासको लक्ष्यबाट विचलित पार्न सक्ने उल्लेख गर्दै मतदातालाई सचेत रहन आग्रह गरिएको छ ।

एमालेले पेशाकर्मी, नागरिक समाज, युवाशक्ति तथा विदेशमा रहेका नेपालीहरूलाई पनि राष्ट्र निर्माणको अभियानमा सहकार्य गर्न आह्वान गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *