नेपाली राजनीतिमा वामपन्थी वर्चस्व, समाजको चरित्रसँग मेल खाएन : कमल थापा (भिडियो)
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले नेपाली समाजको मौलिक चरित्र र देशलाई नेतृत्व गर्दै आएको राजनीतिक विचारधाराबीच तालमेल नमिलेको बताएका छन्।
शनिबार पार्टी घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै थापाले नेपालको राष्ट्रिय राजनीतिमा मूलतः वामपन्थी विचार र शक्तिहरूको वर्चस्व रहँदै आएको उल्लेख गरे। ‘नेपालको राजनीतिमा करिब ७० वर्ष लामो वैचारिक यात्रामा उग्र साम्यवाददेखि प्रजातान्त्रिक समाजवादसम्म हावी रह्यो,’ उनले भने।
थापाले नेपाली कांग्रेसलाई पनि वामपन्थी विचारकै संवाहकका रूपमा लिने गरेको बताए। ‘राजनीतिशास्त्रमा समाजवादलाई पनि लेफ्ट–ओरिएन्टेड राजनीतिक विचारधाराका रूपमा लिइन्छ,’ उनको तर्क थियो।
उनले नेपाली जनमानस सनातन धर्म, संस्कृति र परम्पराप्रति आस्थावान रहेको उल्लेख गर्दै वैदिक कालदेखि स्थापित मूल्य-मान्यताले समाजमा बलियो जरो गाडेको बताए। ‘हाम्रो समाज सनातन धर्म र परम्पराबाट अनुप्राणित छ, तर राजनीतिक रूपमा त्यसको ठीक विपरीत मान्यता बोकेको साम्यवाद, मार्क्सवाद र समाजवादले नेतृत्व गर्यो,’ थापाले भने।
उनका अनुसार समाजको मौलिक चरित्र र राजनीतिक विचारबीच देखिएको यो विरोधाभास अन्त्य हुनुपर्छ। ‘यो विरोधाभाषपूर्ण विडम्बनाको अन्त्य आवश्यक छ,’ उनले जोड दिए।
थापाले समाजको सांस्कृतिक तथा धार्मिक पहिचानसँग मेल खाने राजनीतिक मार्ग अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरे।
