नेपालको तेस्रो हार, वेष्ट इन्डिज सुपर आठमा
काठमाडौं । नेपाललाई नौ विकेटले हराउँदै वेष्ट इन्डिजले जारी टी-२० विश्वकपको सुपर आठमा स्थान सुरक्षित गरेको छ । नेपालको भने सुपर आठमा पुग्ने सम्भावना समाप्त भएको छ ।
मुम्बईको वाङ्खडे रंगशालामा नेपालले दिएको १३४ रनको लक्ष्य वेष्ट इन्डिजले १५ ओभर २ बलमा एक विकेट गुमाएर पुरा गर्यो ।
वेष्ट इन्डिजका लागि कप्तान साइ होपले ६१ र सिमरन हेटमायरले ४६ रनको योगदान गरे । ब्रेन्डन किङले २२ रन बनाए । नेपालका लागि एकमात्र विकेट नन्दन यादवले लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले वेष्ट इन्डिजलाई १३४ रनको चुनौति दिएको थियो । नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रन बनाएको हो ।
अर्धशतक पुरा गरेका उपकप्तान दिपेन्द्र सिंह ऐरी बाहेक कुनै पनि ब्याट्सम्यान क्रिजमा लामो समय टिक्न सकेनन् । चौथो नम्बरमा मैदानमा आएका ऐरीले ४७ बल खेलेर ५८ रन बनाए । उनले तीन छक्का र तीन चौका प्रहार गरे । उनलाई आठौं नम्बरमा क्रिजमा आएका सोमपाल कामी बाहेक अरूले साथ दिन सकेनन् । ऐरी र कामीले २६ बलमा ५४ रनको साझेदारी गरे । कामीले १५ बल खेलेर २६ रन बनाए ।
नेपालका ओपनर कुशल भुर्तेल एक रनमा नै आउट भए भने आशिफ शेख ११ रन जोडेर पवेलियन फर्किए । कप्तान रोहित पौडेल पाँच रनमा नै आउट भए भने आरिफ शेखले २ रन मात्रै जोडे । राम्रो लयमा देखिएका लोकेश बम पनि धेरैबेर टिक्न सकेनन् । उनले १५ बलमा १३ रन बनाए । एउटा छक्का प्रहार गरेका गुलसन झाले पनि ११ रन मात्रै बनाउन सके ।
करन केसीले २ बल खेलेर १ रन जोडे ।
वेस्ट इन्डिजका जेसन होल्डरले सर्वाधिक चार विकेट लिए ।
