झापाबाट रवि-बालेन लक्षित ओलीको टिप्पणी, आगजनीलाई क्रान्ति भन्नेले संघीयताबारे स्पष्ट पारुन्
झापा । निर्वाचन केन्द्रित कार्यक्रमको लागि गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता, आगजनी, दंगा र झुटा प्रचारका विषयमा सशक्त टिप्पणी गरेका छन्।
आइतबार साँझ झापामा आयोजित मुस्लिम संघको कार्यक्रममा बोल्दै उनले ‘आगजनीलाई क्रान्ति भन्ने’हरूको संघीयतासम्बन्धी धारणा के हो भनेर प्रश्न उठाए।
गृहजिल्ला झापा-५ मा चुनावी अभियानका क्रममा पार्टीका स्थानीय कार्यकर्ता तथा पार्टी प्रतिनिधिसँग कुराकानी गर्दै ओलीले केही समूहले हिंसा र तोडफोडलाई ‘क्रान्ति’को नाम दिन थालेको टिप्पणी गरे। ‘लुटपाटलाई क्रान्ति भन्ने, आगजनीलाई क्रान्ति भन्ने कुरा आउँछन्। घरी भन्या छ, संघीयता मान्दिन, प्रदेश चाहिन्न। वहाँहरुले भन्नुपर्यो के मान्नुहुन्छ?’ ओलीले प्रश्न गरे।
उनले संघीयता अस्वीकार गर्ने, प्रदेश संरचना नमान्ने र अराजक गतिविधिलाई बढावा दिने तत्त्वहरू राजनीतिक संस्कारविहीन भएको आरोप समेत लगाए।
एमाले आगजनी र लुटपाट गर्ने पार्टी नभएकाे उल्लेख गर्दै ओलीले लुटेरा प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । ‘हामी आगो लगाएर हिँड्ने, तोडफोड गर्ने, अर्काको घर लुट्ने पार्टी होइनौं,’ उनले भने,’यस्ता लुटेरा प्रवृत्तिलाई प्रोत्साहन गर्ने तत्त्वहरू सक्रिय देखिन्छन्, यिनलाई निस्तेज पार्नुपर्छ।’
उनका अनुसार केही समूहले भावनात्मक उक्साहट र झुटा प्रचारमार्फत जनमत भ्रमित गर्ने काम गरिरहेका छन्।
झापाको गणतन्त्र चोकमा भएको झुठा प्रचार र पोस्टर काण्डमा आक्रामक देखिएका ओलीले यस्ता गतिविधि नरोकिए उनीहरूको लागि महँगो पर्ने चेतावनी दिए । उनका अनुसार गणतन्त्र चौक वरिपरि आफ्नो बदनाम गर्न असत्य सामग्री टाँसिएको थियो।
लुकेर झुठा पोस्टर टाँस्दै हिँड्ने तत्त्वहरू सक्रिय भएका छन्, हाम्रो पोस्टर च्यातेर फाल्छन्,’ओलीले सम्बोधनका क्रममा चेतावनीको शब्दमा भने,’ हामीले सुरुमा त्यस्ता गतिविधि रोक्न सचेत गराउँछौं । त्यसपछि पनि ती कुराहरू दोहोरिए भने उनीहरुलाई त्यो भारी पर्न सक्छ।’
उनले झुठा प्रचार, चरित्र हत्या र जनमत भ्रमित गर्ने गतिविधि रोक्न पार्टी पङ्क्ति सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिए ।
