लन्डनस्थित दूतावासमा २६३ औँ नेपाली सेना दिवस : बेलायती चिफअफ स्टाफको प्रशंसा
बेलायत। ब्रिटिश सेनाका चिफअफ स्टाफ, फिल्ड आर्मी मेजर जनरल कार्ल बोसवेल सिबिइले नेपाली सेना विश्व प्रतिष्ठित संस्था भएको बताउनुभएको छ ।
लन्डनस्थित नेपाली दूतावासमा २६३औँं नेपाली सेना दिवसका अवसरमा सोमबार साँझ आयोजित विशेष समारोहका प्रमुख अतिथिका रुपमा बोसवेलले नेपाली सेना गर्विलो इतिहास र उत्कृष्टताका कारण विश्वव्यापी प्रतिष्ठा भएको सैन्य संस्था रहेको बताउनुभएको हो ।
संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनामा असाधारण योगदान दिँदै नेपाली शान्ति सेनाले अनुशासन, सहानुभूति र सबैभन्दा जटिल कामका लागि विश्वभर प्रशंसा कमाएको उहाँको भनाइ छ । उहाँले संयुक्त अधिराज्यको वेल्समा आयोजित विश्वकै कठिन अभ्यास ‘क्याम्ब्रियन पट्रोल एक्सरसाइज–२०२५’ मा नेपाली सेनाले स्वर्ण पदक जितेकामा प्रशंसा गर्नुभयो ।
उहाँले ब्रिटिस गोर्खा सैनिक पनि बहादुरी, बफादारी र व्यावसायिकताको उदाहरण बनेको उल्लेख गर्दै दुई सेनाबीचको साझेदारी संयुक्त तालिम र शिक्षा, विपद् प्रतिक्रिया सहयोग, व्यावसायिक आदानप्रदान, शान्ति, स्थिरता र अन्तरराष्ट्रिय नियम–आधारित व्यवस्थाप्रति साझा प्रतिबद्धतामार्फत अगाडि बढेको बताउनुभयो ।
कार्यक्रममा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाली सेनाको गौरवशाली इतिहास र सेनाले राष्ट्रका लागि हासिल गरेका महत्वपूर्ण उपलब्धि स्मरण गर्दै, नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनादेखि विभिन्न सैन्य गतिविधिमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहले स्वागत मन्तव्य दिँदै नेपाली सेनाले रणनीतिक नीतिको कार्यान्वयन, राष्ट्र निर्माण प्रयास प्रवद्र्धन र सन्तुलित सैन्य कूटनीतिमा संलग्न हुँदै आफ्नो सम्मानित स्थान कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
सो कार्यक्रममा बेलायतस्थित नेपाली डायस्पोराका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका १०० बढीको सहभागिता रहेको थियो ।
