`

रास्वपा घोषणापत्र : वायु सेवा निगमको ४९ प्रतिशत शेयर बेच्ने, निजी क्षेत्र भित्र्याउने

Nepal One HD ७ फागुन २०८२ १७:४४
निर्वाचन विषेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल वायुसेवा निगमको ४९ प्रतिशत शेयर स्वामित्व बेचेर निजीक्षेत्रलाई भित्र्याउने योजना अघि सारेको छ ।

बिहीबार चुनावी वाचापत्र सार्वजनिक गरेको रास्वपाले निगमको कुल शेयरमध्ये ५१ प्रतिशत सरकारकै नाममा राख्ने र बाँकी ४९ प्रतिशतको स्वामित्व निजीक्षेत्रलाई बेचेर लगानी भित्र्याउने उल्लेख गरेको हो ।

‘निगमको वित्तीय अवस्था सुधार्न सरकारको ५१ प्रतिशत स्वामित्व हुने गरी निजी क्षेत्रको सहभागिता भित्र्याउने र अन्ततः धितोपत्र बजारमा सूचीकृत गर्ने रणनीति अवलम्बन गर्नेछौँ’, वाचापत्रमा उल्लेख गरिएको छ ।

सोही नीतिमा रास्वपाले वायुसेवा निगमलाई राजनीतिक भागबन्डा र हस्तक्षेपबाट पूर्ण रूपमा मुक्त गरी यसको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी खुला प्रतिस्पर्धाबाट छानिएको व्यावसायिक टोलीलाई सुम्पिने उल्लेख गरेको छ ।

साथै, वायुसेवालाई छिटो, पारदर्शी र भ्रष्टाचाररहित प्रक्रियाबाट जहाज लीजमा लिई बजारले धान्नेसम्म उडान संख्या बढाउन लगाई थप जहाजको खरिद प्रक्रिया अगाडि बढाउने पनि रास्वपाले वाचापत्रमा उल्लेख गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *