`

किसान, युवा र गरिबी निवारणमा केन्द्रित कांग्रेसको चुनावी खाका

Nepal One HD ७ फागुन २०८२ १८:३७
निर्वाचन विषेश

काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको छ। बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति गगन थापाले प्रतिज्ञापत्र सार्वजनिक गर्दै पारदर्शी, उत्तरदायी र लोकतान्त्रिक शासनमार्फत राष्ट्रिय समृद्धि हासिल गर्ने लक्ष्य अघि सारे।

कांग्रेसले मुलुकको समग्र आर्थिक तथा सामाजिक रूपान्तरणका लागि कृषि, पर्यटन, औद्योगिक विकास र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ। उत्पादन वृद्धि, लगानी विस्तार र रोजगारी सिर्जनामार्फत अर्थतन्त्र सुदृढ बनाइने प्रतिज्ञापत्रमा उल्लेख छ।

युवालाई केन्द्रमा राख्दै रोजगारी, उद्यमशीलता र नवीन सोच विकासमा विशेष जोड दिइएको छ। राष्ट्रिय विकास अभियानमा युवाको सक्रिय सहभागिता सुनिश्चित गरिने कांग्रेसको प्रतिबद्धता छ।

डिजिटल रूपान्तरणतर्फ देशलाई डिजिटल रूपमा सुसम्पन्न बनाउँदै डिजिटल सेवाको पहुँच विस्तार गर्ने, डिजिटल पूर्वाधार मजबुत बनाउने र डिजिटल अर्थतन्त्रलाई टेवा पुर्‍याउने नीति अघि सारिएको छ।

सामाजिक क्षेत्रतर्फ नागरिकको स्वास्थ्य, सुरक्षा र सामाजिक सुरक्षामा विशेष ध्यान दिइएको छ। निःशुल्क स्वास्थ्य सेवामा पहुँच विस्तार, सामाजिक सुरक्षाको दायरा वृद्धि र गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा पोषणमा जोड दिइने उल्लेख छ।

गरिबी निवारणका कार्यक्रमलाई प्राथमिकता दिँदै ठोस योजना अघि बढाइने, सबै वर्ग, क्षेत्र र समुदायको समानुपातिक सहभागिता सुनिश्चित गरी समावेशी विकासलाई प्रवर्द्धन गरिने कांग्रेसले जनाएको छ।

साथै, नेपाली सम्पदा, संस्कृति र परम्पराको संरक्षण तथा संवर्द्धनमार्फत राष्ट्रिय पहिचान सुदृढ गरिने प्रतिज्ञा गरिएको छ। स्थानीय समुदायको आवश्यकता अनुरूप विकास कार्यक्रम लागू गर्ने र कानुनी शासन सुदृढ गर्दै न्यायपालिकाको स्वतन्त्रता सुनिश्चित गर्ने प्रतिबद्धता पनि समेटिएको छ।

कृषकका हकहितको संरक्षण, आय वृद्धि र जीविकोपार्जन सुधारलाई प्राथमिकता दिँदै कृषि क्षेत्रलाई सशक्त बनाउने कांग्रेसको योजना छ। समग्रमा १५ बुँदे प्रतिज्ञापत्रमार्फत कांग्रेसले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनलाई मुख्य आधार बनाएको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *