ओलीको टिप्पणी : चुनाव नजित्ने भएपछि रास्वपाको व्यवहार अभद्र र अमर्यादित भयो
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव नजित्ने भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अराजकता प्रदर्शन गर्न थालेको आरोप लगाएका छन् ।
एमाले र नेकपाको झण्डा जलाउने, माओवादी उम्मेदवारमाथि हातपात गरेको घटनातर्फ लक्षित गर्दै ओलीले रास्वपाका पछिल्ला व्यवहारहरू अभद्र, अमर्यादित, अशोभनीय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने जस्ता देखिएको बताए ।
उनले भद्रपुर विमानस्थलमा पत्रकारहरूसँग भने, ‘मलाई के लाग्छ भने रास्वपाले चुनाव जितिन्नँ भन्ने निष्कर्ष निकालेको जस्तो लाग्छ । त्यसकारण उसले कतै झण्डा जलाउने, अत्यन्तै अभद्र, अमर्यादित, अशोभनीय खालका व्यवहार देखाउने, तनाव बढाउन खोज्ने, त्यस प्रकारको कुराहरू देखिन थालेका छ ।
चुनाव भाँड्ने स्थितिमा रास्वपा पुगेको ओलीले टिप्पणी गरे ।
‘त्यसर्थ उनीहरू चुनाव भाँड्ने स्थितिमा पुगेको यसै अनुमान गर्न सकिन्छ । यसको अर्थ हो, उनीहरू आफ्नो पक्षमा नतिजा आउँछ भने चुनाव लड्ने, पक्षमा नतिजा आउँदैन भने चुनाव लड्न नदिने, खालको प्रवृत्तिमा देखिन्छ,’ उनले भने ।
ओलीले मतदाताले निर्भय रुपमा चुनावमा भाग लिने वातावरण तयार हुनुपर्ने बताए ।
