`

मतदाताकाे घरघरमा एमालेकाे पालामा भएकाे समृद्धिको सन्देश पुर्‍याउन शंकर पोखरेलको आग्रह

Nepal One HD १० फागुन २०८२ १४:१८
निर्वाचन विषेश

दाङ । नेकपा एमालेका महासचिव एवं दाङ क्षेत्र नम्बर-२ का उम्मेदवार शंकर पोखरेलले दाङको विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पुर्‍याउन आफ्नो नेतृत्व आवश्यक रहेको बताएका छन् ।

विजौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विकासका एजेन्डालाई केन्द्रमा राखेर मतदातासमक्ष प्रस्तुत हुन आग्रह गरे ।

सभालाई सम्बोधन गर्दै उनले भने, ‘दाङको विकास र समृद्धिका लागि शंकर पोखरेल अपरिहार्य छ भन्‍ने अभियान घर–घरमा पुर्‍याइदिनुहोस् । अधुरा काम पूरा गर्न र सुरु भएका योजनालाई निष्कर्षमा पुर्‍याउन सक्षम नेतृत्व आवश्यक छ ।’

पोखरेलले आफू मुख्यमन्त्री हुँदा दाङमा पूर्वाधार, स्वास्थ्य र शिक्षाका क्षेत्रमा महत्वपूर्ण काम सुरु भएको दाबी गरे । उनले भने, ‘मैले नेतृत्व गर्दा दाङको विकासको आधार तयार भएको थियो । सरकारबाट बाहिरिएपछि केही काम रोकिए, अब ती योजनालाई पुनः गति दिन आवश्यक छ ।’

घोराही-तुलसीपुर चारलेन सडक निर्माण आफ्नै पहलमा सुरु भएको भन्दै पोखरेलले विजौरी-दहवन हुँदै शहीद मार्ग विस्तार, मानपुर-जलकुण्डी सडक स्तरोन्नतिलगायतका योजनाहरू मध्य दाङको विकासका लागि अनिवार्य रहेको उनले बताए । ‘मध्य दाङको समग्र विकासका लागि सडक सञ्‍जाल मजबुत बनाउनु अपरिहार्य छ’, उनले जोड दिए ।

स्वास्थ्य क्षेत्रको उपलब्धि उल्लेख गर्दै उनले रेफर सेन्टरका रूपमा रहेका दाङका अस्पतालहरूलाई विकास गरेर विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालका रुपमा विकास गरिएको बताए । ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुनु दाङका लागि ऐतिहासिक उपलब्धि हो’, उनले भने, ‘अब प्राविधिक शिक्षा र स्वास्थ्य सेवा दाङमै सुदृढ बनाउनुपर्छ ।’

पोखरेलले नीति निर्माण र बजेट विनियोजनमा प्रभावकारी पहुँच पुर्‍याउन सक्ने प्रतिनिधि आवश्यक रहेको उल्लेख गरे । ‘काठमाडौंबाट बजेट ल्याउन र नीतिगत निर्णयमा प्रभाव पार्नसक्ने नेतृत्व दाङले रोज्नुपर्छ,’ उनले भने, ‘समृद्ध दाङ बनाउने लक्ष्यसहित हामी अघि बढेका छौँ ।’

चुनावी सभामा उनले पार्टीका कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर अभियान सञ्चालन गर्न आह्वान गर्दै विकास, स्थिरता र समृद्धिको सन्देश मतदातामाझ पुर्‍याउनन आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *