दुई-तीन दिनसम्म चालचुल नभएपछि हेर्दा घरभित्र पाँच जनाकाे शव !
भारत । दुई-तीन दिनसम्म घरमा चालचुल नभएपछि छिमेकीले खबर गर्दा पुगेकाे प्रहरीले एकै घरका पाँच जनाकाे शव फेला पारेकाे छ । याे घटना भारतकाे उत्तर प्रदेशको कासगन्जकाे हाे ।
भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय सत्यवीरसहित उनको परिवारका सदस्यहरु घरभित्रै मृत भेटिएका हुन्।
कासगन्जका प्रहरी अधीक्षक अंकिता शर्माका अनुसार, शनिबार साँझ ६:३० बजे एउटा परिवार दुईदेखि तीन दिनदेखि घरबाट बाहिर ननिस्केको खबर प्रहरीले पायो।
यसपछि घटनास्थल पुगेर हेर्दा घरभित्र ५ जना मृतावस्थामा पाइएका हुन्।
एसपी अंकिता शर्माले भनिन्, ‘कोठाको ताला खोल्दा सत्यवीर, उनका श्रीमती, दुई छोरी र एक छोराको शव फेला पर्यो।’
प्रथम दृष्टिमा सत्यवीरले आफ्नो परिवारको हत्यापछि आत्महत्या गरेको देखिएको उनले बताइन्।
उनले भनिन्, यद्यपि घटनाबारे सबै कोणबाट गहन अनुसन्धान भइरहेको छ।
पोस्टमार्टम रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण थाहा हुने एसपी शर्माको भनाइ छ।
