`

अफगानिस्तानमा पाकिस्तानकाे हवाई आक्रमण, उपयुक्त समयमा जवाफ दिने अफगानिस्तानकाे चेतावनी

Nepal One HD १० फागुन २०८२ १६:०६
बिशेष

पाकिस्तानले अफगानिस्तानसँग जोडिएको सीमा क्षेत्रमा ‘सातवटा आतङ्कवादी अड्डा र शिविर’ माथि लक्षित हवाई आक्रमण गरेको दाबी गरेको छ।

गुप्तचर सूचनाका आधारमा कारबाही गरिएको र हालै पाकिस्तानभित्र भएका आत्मघाती हमलाहरूको प्रतिक्रियास्वरूप यो कदम चालिएको इस्लामाबादको भनाइ छ।

पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार आक्रमणहरू ‘पाकिस्तानी तालिबान’, फितना अल–खवारीज तथा इस्लामिक स्टेट अफ खोरासान प्रान्तसँग सम्बद्ध संरचनामाथि केन्द्रित थिए।

ती समूहहरूले अफगानिस्तानमा रहेका नेतृत्वको निर्देशनमा पाकिस्तानमा हमलाहरू गरिरहेको बलियो प्रमाण आफूहरूसँग रहेको पाकिस्तानले दाबी गरेको छ।

तर अफगानस्थानको तालिबान सरकारले भने पाकिस्तानको दाबीलाई अस्वीकार गर्दै नागरिक बस्तीमाथि बमबारी गरिएको आरोप लगाएको छ।

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार नान्गारहार र पक्तिका प्रान्तमा भएको आक्रमणमा महिला तथा बालबालिकासहित दर्जनौँ सर्वसाधारणको ज्यान गएको छ भने धेरै घाइते भएका छन्।

नान्गारहारमा एक घरलाई लक्षित गरी गरिएको आक्रमणमा २० जनाको मृत्यु भएको दाबी गरिएको छ। पक्तिकामा एउटा मदरसा पनि निशानामा परेको बताइएको छ। तालिबान पक्षले यी सबै क्षेत्र ‘नागरिक क्षेत्र’ भएको जिकिर गरेको छ।

यता पाकिस्तानले भने अफगान तालिबान सरकारसँग आफ्नो भूमि ‘आतङ्ककारी समूहहरूले पाकिस्तानविरुद्ध प्रयोग गर्न नदिन’ पटक–पटक आग्रह गरिएको तर ठोस कारबाही नभएको दाबी गरेको छ।

दुवै देशबीच आरोप–प्रत्यारोप चर्किँदै जाँदा सीमा क्षेत्रमा तनाव बढ्ने संकेत देखिएको छ। क्षेत्रीय सुरक्षामा यस घटनाले दीर्घकालीन प्रभाव पार्न सक्ने विश्लेषण भइरहेको छ । बीबीसीबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *