रास्वपा कार्यकर्ताले एमालेकाे झण्डा जलाएकोमा काँग्रेसकाे आपत्ति
काठमाडौं । नेपाली काँग्रेसले निर्वाचन प्रचारको क्रममा पार्टीको झण्डा जलाउनेलगायतका गतिविधिप्रति आपत्ति जनाउँदै तत्काल बन्द गर्नुपर्ने जनाएको छ ।
आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता देवराज चालिसेले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झण्डा जलाएकोप्रति लक्षित गर्दै त्यस्ता खालका कार्य निन्दनीय भएको र तत्काल बन्द हुनुपर्ने प्रतिक्रिया दिएका हुन् ।
त्यसैगरी काँग्रेसले देशका विभिन्न ठाउँमा सामाजिक सदभाव तथा धार्मिक सहिष्णुतामा असर पुर्याउने काम भइरहेको भन्दै त्यस्ता खालका गतिविधिहरु कहीँ कतैबाट पनि हुन नहुने भनेको छ ।
प्रवक्ता चालिसेले सामाजिक विद्वेष फैल्याउने र घृणायुक्त अभिव्यक्ति दिने कुरा कुनै पनि पार्टीले गर्न नहुने बताए ।
उनले भने, ‘हामी अनुरोध गर्न चाहन्छौँ–जनता जनताबीचको सामाजिक सदभाव, धार्मिक सहिष्णुतामा असर पुर्याउने काम कहीँकतैबाट हुनुु हुँदैन । सामाजिक विद्वेष फैल्याउने, घृणायुक्त अभिव्यक्ति कुनैप नि पार्टीबाट हुनु श्रेयस्कर हुँदैन । कसैको पनि आस्थामा चोट पुर्याउने अभिव्यक्ति, व्यक्तिगत निन्दा र पार्टीको झण्डा जलाउने गतिविधिलाई नेपाली काँग्रेस निन्दनीय कार्य हो भन्ने ठान्दछ । यस्तो कार्यहरु तत्काल बन्द गरिनु पर्दछ ।’
प्रवक्ता चालिसेले नेपाली काँग्रेसले जारी गरेको प्रतिज्ञापत्र पनि आम मतदाताको आकर्षण रहेको जिकिर पनि गरे ।
