ठूलाे जनधनकाे क्षति भएकाे त्रिशूली दुर्घटनाकाे छानबिन हुने
काठमाडौं । सरकारले धादिङकाे त्रिशूलीमा भएकाे दुर्घटनाको छानबिन गर्ने भएकाे छ ।
दुर्घटनापछि साेमबार गृहमन्त्री ओमप्रकाश अर्यालकाे अध्यक्षतामा बसेकाे बैठकले घटनाबारे छानबिन गर्ने निर्णय गरेको हाे ।
मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार बैठकमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीनवटै सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला निकायहरुबीच छलफल भएको थियो । बैठकले घटनाको छानबिन गर्न समिति बनाउने निर्णय गरेकाे उनले बताइन् ।
गएराति पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस धादिङको बेनिघाट रोराङ् गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।
याे समाचार तयार पार्दासम्म दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । १७ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा काठमाडाैकाे ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
प्रहरीले दिएको जानकारी अनुसार, कलंकीस्थित नेशनल अस्पतालमा एक महिलासिहत १० जना र ट्रमा सेन्टरमा १५ जना ल्याइएको छ ।
ट्रमामा एक जना युवकको मृत्यु भएको छ भने १४ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
