`

झापा–२ मा  पूर्वसभामुख देवराज घिमिरेसहित पाँच प्रभावशाली महिला उम्मेदवार गरी १८ जना प्रतिस्पर्धामा

Nepal One HD १३ फागुन २०८२ १९:३३
निर्वाचन विषेश

झापा। झापाका अन्य निर्वाचन क्षेत्रझैँ निर्वाचन क्षेत्र नं २ पनि चर्चामा छ । यहाँ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार पूर्वसभामुख देवराज घिमिरे र विभिन्न दलका पाँच प्रभावशाली महिला उम्मेदवार गरी १८ जना प्रतिस्पर्धामा छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निवर्तमान उपसभामुख इन्दिरा रानामगर, नेपाली कांग्रेसका तर्फबाट पूर्वराज्यमन्त्री सरिता प्रसाइँ, नेकपा (माओवादी केन्द्र) बाट पूर्वराज्यमन्त्री धर्मशीला चापागाईं चुनावी मैदानमा छन् । त्यसैगरी श्रम संस्कृति पार्टीबाट चन्द्रकुमारी गारु र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती पनि घरदैलो अभियानमा सक्रिय छन् ।

निर्वाचन कार्यालयका अनुसार यस क्षेत्रमा कूल एक लाख ४७ हजार ५२२ मतदाता छन् । जसमा पुरुष मतदाताको सङ्ख्या ७३ हजार ९५० र महिला मतदाताको सङ्ख्या ७३ हजार ५६७ छ । ‘अन्य’मा पाँचजना मतदाता छन् । निर्वाचनलाई व्यवस्थित बनाउन ४९ मतदानस्थल र १६५ वटा मतदान केन्द्र तोकिएका छन् ।

भौगोलिक रूपमा अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिकाका केही वडा र बुद्धशान्ति गाउँपालिकाका केही क्षेत्र समेटिएको यस निर्वाचन क्षेत्रको विगत पनि रोचक छ । विसं २०४८ देखि हालसम्म यसक्षेत्रमा नेकपा (एमाले) को बलियो पकड देखिन्छ । विसं २०४८ मा देवीप्रसाद ओझा,२ ०५६ मा केपी शर्मा ओली, २०७४ मा पवित्रा निरौला खरेल र २०७९ मा देवराज घिमिरे यहाँबाट निर्वाचित भइसक्नुभएको छ ।

यसैगरी, विसं २०६४ मा माओवादीका गौरीशङ्कर खड्का र २०७० मा कांग्रेसका सुधीरकुमार शिवाकोटी पनि यस क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।यस पटकको निर्वाचनमा मतदाताको अपेक्षा केवल राजनीतिक परिवर्तनमा मात्र सीमित छैन । अर्जुनधारा र साविकको खुदुनाबारी गाविस क्षेत्रमा रहेको सुकुम्बासी समस्याको स्थायी समाधान र जग्गाधनी पुर्जा वितरण मतदाताको प्रमुख माग रहेको छ ।

अर्जुनधारा–१० की गीता अधिकारी भन्नुहुन्छ, “हामीलाई पटक–पटक आश्वासन दिइयो, तर यसपटक ठोस् काम गर्ने प्रतिनिधिलाई मात्र भोट दिने सोचमा छौँ ।”उहाँका अनुसार अधिकांश मतदाता यसपटक उम्मेदवारको अघिल्लो कार्यकालको समीक्षा गरिरहेका छन् । पूर्वसभामुख घिमिरेको संसदीय अनुभव र एमालेको सङ्गठित मत एकातिर छ, भने अर्कोतिर कांग्रेसको विरासत जोगाउने प्रसाइँको कसरत र रास्वपाकी रानामगरको नयाँ लहरले प्रतिस्पर्धालाई रोचक बनाएको छ ।

अघिल्लो निर्वाचनमा कम मतान्तरले परिणाम निस्किएका कारण यसपटक साना दल र नयाँ मतदाताको भूमिका निर्णायक हुने राजनीतिक विश्लेषक बताउँछन् ।

महिला उम्मेदवारको ठूलो सङ्ख्याले महिला मतदातामा उत्साह थपिएको छभने पुरानो राजनीतिक विरासत र नयाँ शक्तिबीचको यो भिडन्तले झापा–२ को नतिजा कसको पक्षमा जान्छ भन्ने चासो सबैमा देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *