अमेरिका, बेलायतसहित ७४ देशका नागरिक श्रम गर्छन् नेपालमा
काठमाडौं । नेपालमा आएर काम गर्ने विदेशीको संख्या प्रत्येक वर्ष बढेर गएको छ ।
श्रम, रोजगार तथा व्यवसायजन्य सुरक्षा विभागकाअनुसार चीन, भारत, अमेरिका, बेलायत, क्यानडासहित ७४ देशका नागरिकले श्रम इजाजत लिएर निर्माण, स्वास्थ्य, हवाई उडानसहितका क्षेत्रमा काम गरिरहेका छन् ।
विभागकाअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ८ सय ९२ जना विदेशीले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार ६ सय ६७ जनाले श्रम नविकरण गराएका थिए ।
यसरी कुल २ हजार ५ सय ५९ जना विदेशी श्रम इजाजत लिएर नेपालमा कार्यरत छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ३ सय ७३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने ७ सय ९३ जनाले नविकरण गराएका छन् । यस अवधिमा १ हजार १ सय ६६ जना विदेशीले श्रम इजाजत प्राप्त गरेका छन् ।
भारतबाट नेपालमा आएर विभिन्न क्षेत्रमा ठूलो संख्यामा काम गरिरहेका छन् तर भारतीय नागरिकले नेपालमा आएर काम गर्दा श्रम स्वीकृति लिनुनपर्ने भएकाले उनीहरुको अभिलेख सरकारी रेकर्डमा खासै देखिँदैन ।
विभागका महानिर्देशक चक्रपाणी पाण्डेले अहिले संख्यात्मक रूपमा श्रम स्वीकृति लिएर सबैभन्दा धेरै चिनियाँ नागरिकले नेपालमा श्रम इजाजत लिएर काम गरिरहेको बताए । उनका अनुसार वर्षेनी करिव १ हजार ६ सय चिनियाँ नागरिक नेपालमा आएर काम गरिरहेका छन् ।
त्यस्तै बेलायत (युके) बाट एक सयभन्दा बढी नागरिक नेपालमा कार्यरत छन् भने जापानबाट पनि १ सय भन्दा बढी नागरिक विभिन्न परियोजनामा संलग्न छन् ।
ठूलो संख्यामा भारतीय नागरिकहरू नेपालमा काम गरिरहेका भएपनि उनीहरूले श्रम इजाजत लिन नपर्ने प्रावधानका कारण वास्तविक संख्या अभिलेखमा नरहेको पाण्डेले बताए ।
उनका अनुसार नेपाल–भारतबीच सन् १९५० को सन्धिअनुसार दुवै देशका नागरिकले एकअर्का देशमा काम गर्दा श्रम इजाजत लिनु नपर्ने व्यवस्था छ । तथापि, केही प्रतिष्ठामा उच्चस्तरमा कार्यरत ३० जना भारतीय नागरिकले भने श्रम स्वीकृति लिएर काम गरिरहेका छन् ।
नेपालको श्रम ऐनअनुसार बढी दक्ष कामदारलाई बढीमा ५ वर्ष र अन्य प्राविधिकलाई ३ वर्षसम्म काम गर्न दिने व्यवस्था छ । बढी दक्ष कामदारले पुनस्र्थापना योजना पेश गर्नुपर्छ । उच्च प्राविधिक काम गर्ने विदेशी नागरिकले १२ वर्षसम्म श्रम नविकरण गराएर बस्न पाउने व्यवस्था छ ।
विभागकाअनुसार विशेषगरी निर्माण क्षेत्रमा विदेशी नागरिकको उपस्थिति उल्लेख्य छ । सुरुङ, टनेल, जलविद्युत आयोजना जस्ता प्रविधि आधारित ठूला परियोजनामा विदेशी प्राविधिक कार्यरत छन् ।
चिनियाँ सहयोगमा स्थापित सिमेन्ट तथा जलविद्युत उद्योगहरूमा चिनियाँ नागरिकहरूको संलग्नता देखिन्छ । यस्तै, नेपालमा सञ्चालित ब्रिटिस स्कुलहरूमा युकेका नागरिकहरू कार्यरत छन् भने जापानी परियोजनाहरूमा १०० भन्दा बढी जापानी नागरिक कार्यरत छन् ।
केही अस्पतालमा विदेशी डाक्टर कार्यरत छन् । केही एयरलाइन्स कम्पनीहरूमा विदेशी स्टेशन म्यानेजर छन् भने कतिपय विश्वविद्यालयमा विदेशी शिक्षकले अध्यापन गरिरहेका छन् ।
नेपाल सरकारसँग परियोजना सम्झौता गर्दा कतिपय विदेशीलाई श्रम स्वीकृति लिन नपर्ने व्यवस्था गरिने भएपनि अधिकांशले श्रम स्वीकृति लिनैपर्छ ।
कुनै प्रतिष्ठानमा विदेशी नागरिकले विना इजाजत काम गरेको पाइए कारबाही गरिने विभागले जनाएको छ ।
