`

हतियार हाेइन, मतपत्रकाे तागत बाेकेर सिंहदरबार प्रवेश गर्ने प्रचण्डकाे घाेषणा (भिडियाे)

Nepal One HD १६ फागुन २०८२ १६:०१
निर्वाचन विषेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको राष्ट्रिय स्वाधीनता र आत्मसम्मानमाथि गम्भीर चुनौती थपिएको बताएका छन् ।

रोल्पामा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विदेशी प्रतिक्रियावादी र तिनका दलालहरूका विरुद्ध नयाँ एकता र शक्तिका साथ प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याए । प्रचण्डले रोल्पालाई नेपाली जनवादी क्रान्तिको किल्ला र ‘क्रान्तिको राजधानी’ को रूपमा चित्रण गरे।

उनले भने, ‘रोल्पामा उभिएर सम्बोधन गर्दा मैले देशभरिका ७७ वटै जिल्लाका जनतालाई सम्बोधन गरेको महशुस गरेको छु । यहाँका सहिद, बेपत्ता योद्धा र क्रान्तिकारी जनताको त्यागले नै १० वर्षे जनयुद्ध सफल भएको हो ।’

आफू पहिलो पटक रोल्पाबाटै निर्वाचित भएर प्रधानमन्त्री बनेको स्मरण गर्दै उनले रोल्पाका जनताप्रति आफू सधैं ऋणी रहेको बताए ।

‘रोल्पाका जनताले इतिहास बनाउनुभयो र तपाईहरुकै काखमा बसेर नै हामीले नेपालको जनवादी क्रान्तिलाई आधारभुत रूपले सफल पार्न सम्भव भयो ’, उनले भने ।

वर्तमान राजनीतिक परिस्थितिलाई ‘असहज’ र ‘जटिल’ भन्दै प्रचण्डले राष्ट्र निकै ठूलो अप्ठ्यारोमा परेको उल्लेख  गरे । जेन-जी युवाहरूको आन्दोलन र त्यसपछि भएका घटनाक्रमले निर्वाचनको वातावरण असहज बनाएको उनकाे तर्क छ ।
‘नेपाली जनताले आफ्नो बारेमा निर्णय गर्ने अधिकारमाथि विदेशी शक्ति र तिनका दलालहरूले चुनौती दिने दुःशाहस गरेका छन्’, उनले भने, ‘आज संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान र प्राप्त उपलब्धिहरूमाथि प्रहार भइरहेको छ । महान सहिदहरुले अकल्पनीय त्याग र बलिदानबाट स्थापित गरेका मूल्य मान्यतामाथि प्रहार हुने दुःशाहस भएको छ ।’

यसपटक रुकुम पूर्वबाट प्रत्यक्ष निर्वाचन लड्नुको पछाडि राष्ट्र बचाउने नयाँ अभियानको उद्देश्य रहेको उनले प्रष्ट पारे ।

उनले भने, ‘म रुकुममा मात्र उम्मेदवार भएको होइन, यो रोल्पा, सल्यान र जाजरकोटसहितको केन्द्रिय आधार इलाकाको प्रतिनिधित्व हो । यहाँबाट शुरु हुने अभियानले देशभरि सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक समृद्धिको नयाँ सन्देश दिनेछ ।’

उनले विगतमा निरंकुश राजतन्त्रका विरुद्ध युद्धको उद्घोष गर्दा पनि रोल्पा–रुकुमबाटै सुरु गरिएको स्मरण गर्दै आजको संकट समाधान गर्न पनि यही आधार इलाकाको साथ आवश्यक रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *