टी-२० विश्वकप: सेमिफाइनल प्रवेशका लागि श्रीलंकासँग प्रतिस्पर्धा गर्दै पाकिस्तान
काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को सुपर-८ अन्तर्गत समूह-२ मा आज पाकिस्तान र श्रीलंकाबीच ५०औं खेल हुँदैछ।
खेल श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, क्यान्डीमा स्थानीय समयअनुसार साँझ ७ बजे सुरु हुनेछ।
पाकिस्तानका लागि यो खेल सेमिफाइनल पुग्ने अन्तिम अवसर हो। सुपर-८ चरणमा एउटा खेल वर्षाले प्रभावित भएकाे र अर्काे खेलमा इङ्गल्यान्डसँग हारपछि पाकिस्तानको नेट रन रेट नकारात्मक भएको छ।
न्यूजिल्यान्डको नेट रन रेटको तुलनामा पाकिस्तानले सेमिफाइनल पुग्न श्रीलंकालाई ठूलो अन्तरले हराउनु अनिवार्य छ।
पाकिस्तानको ब्याटिङमा साहिबजादा फरहानले यस टुर्नामेन्टमा राम्रो प्रदर्शन गरेका छन् तर बाँकी ब्याट्सम्यानहरूको प्रदर्शन निरन्तर कमजोर रहेको छ। आज बाबर आजम, सैम अयुब र कप्तान सल्मान अघाले असाधारण खेल देखाउन आवश्यक छ।
श्रीलंकाका लागि भने यो खेल सम्मानको लागि मात्र हो। उनीहरू प्रतिस्पर्धाबाट पहिले नै बाहिरिसकेका छन् र आफ्नो घरेलु दर्शकहरूको अगाडि राम्रो प्रदर्शन गर्न चाहन्छन्।
पल्लेकेलेको पिच सामान्यतया ब्याटिङमैत्री मानिन्छ, जहाँ उच्च स्कोर सम्भव हुन्छ। यो पाकिस्तानका लागि सकारात्मक संकेत हो किनकि उनीहरूलाई ठूलो रन बनाउनु छ।
इङ्गल्यान्डले समूहमा शीर्ष स्थान पहिले नै सुनिश्चित गरिसकेको छ। पाकिस्तानले आज जित्न र नेट रन रेट सुधार्न सकेमात्र सेमिफाइनलको ढोका खुल्ने सम्भावना छ।
खेल नेपाली समय अनुसार साँझ ७:१५मा सुरू हुने छ ।
