ओलीले इन्द्र तामाङलाई बालेनबारे मन्तव्य दिन जब लगाए…(भिडियाे)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले विगतमा काठमाडौंकाे सुकुम्बासी बस्तिमा डाेजर चलाउन प्रयास गरेकाे विषयमा पटकपटक स्पष्टीकरण दिनुपरिरहेकाे छ ।
खासगरी चुनाव क्षेत्र झापा-५ काे सुकुम्बासी बस्तिमा उनले स्पष्टीकरण दिने गरेका छन् । उनले सुकुम्बासीहरुलाई उठिबास हाेइन, व्यवस्थापन गर्ने बताउने गरेका छन् ।
तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका सुकुम्बासीलाई उठिबास लगाउन खाेज्ने नेता बालेन भएकाे र उनलाई मत नदिई आफूलाई दिन मतदातासँग आग्रह गर्दै आएका छन् ।
सुकुम्वासीप्रति बालेन विगतमा असहिष्णु बनेकाे भन्दै ओलीले उनलाई पराजय गर्नुपर्नेमा जाेड दिँदै आएका छन् ।
यहीबीच शनिबार भने ओलीले सुकुम्बासी नेता इन्द्र तामाङलाई विगतमा बालेनले काठमाडौंका सुकुम्बासीहरुमाथि कस्ताे व्यवहार गरे ? त्यसबारे बाेल्न लगाए ।
‘उहाँ काठमाडौंमा सुकुम्बासी टाेलकाे मान्छे, सुकुम्बासीकाे नेता इन्द्र तामाङ । उहाँहरुले के भाेग्नुभयाे ? कस्ताे भाेग्नभयाे ? मैले भन्नु भन्दा पनि सुकुम्बासीका समस्या कसले समाधान गर्छ ? कसले चाहिँ सुकुम्बासीलाई डाेजर लगाएर लखेट्छ ? उहाँहरुले भाेग्नभएकाे छ,’ उनले तामाङलाई भने, ‘एउटा सानाे मन्तव्य राख्दिनुहाेस् न ।’
ओलीकाे आग्रहपछि तामाङले बालेनले काठमाडौंका प्रमुख हुँदा उपत्यकाकाे ६२ वटा सुकुम्बासी बस्तिमा डाेजर चलाएकाे भन्दै कडा शब्दमा आलाेचना मात्रै गरेनन्, उनले झापा-५ काे सुकुम्बासीहरुसमक्ष बालेनलाई मत नदिन आग्रह गरे । गरिबकाे चमेली गीत गाउँदै सुकुम्बासी र गरिबकाे मत लिएर विजयी भएपछि उनीहरुलाई निशाना बनाएकाे आराेप लगाए ।
उनले भने, ‘गरिबकाे चमेली काेही छैन बाेल्दिने भनेर एउटा साथी लाैराे बाेकेर गरिबकाे बस्तिमा जानुभयाे, भाेट माग्नुभयाे । गरिबहरुले हाे त क्यारे भनेर भाेट दिनुभयाे । तर, उहाँकाे पहिलाे निशाना थापाथलीकाे बस्ती, वशीघाटकाे बस्ती, बल्खुकाे बस्ती, शान्तिनगरकाे बस्ती, काठमाडौं उपत्यकाकाे ६२ वटा बस्ती छ । ती बस्तीहरुमा उहाँले डाेजर लगाउने काम गरेकाे छ । हाे त्यही राेग आज झापाकाे यही क्षेत्रमा आएकाे छ । तपाईहरुले चिन्नुहाेला, सचेत हुनुहाेला ।’
उनले ओलीले चुनाव जिते सुकुम्बासीहरुकाे पक्षमा कानुन बनाउने पनि दाबी गरे ।
