दाङका बिरामी बाहिर जाने हाेइन, बाहिरबाट आउने बनाउँछाैँ – शङ्कर पाेखरेल (भिडियाे)
काठमाडौं । नेकपा एमालेका महासचिव तथा दाङ-२ का उम्मेदवार शंकर पोखरेलले दाङको स्वास्थ्य र खानेपानी क्षेत्रकाे विकासलाई तीव्र गतिमा अगाडि बढाइने बताएका छन्।
दाङमा आइतबार आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले ४०० शय्याको आधुनिक अस्पताल निर्माणको योजना अघि बढाइएको जानकारी दिए।
‘अब दाङमा हामी ४०० बेडको नयाँ हस्पिटलबनाउने योजनाका साथ अगाडि बढेका छौँ । अब दाङका बिरामीहरु बाहिर जाने होइन, बाहिरका बिरामीहरु दाङ आउने परिवेश निर्माण गर्न गइरहेको कुरा म तपाईंहरुको बीचमा राख्न चाहन्छु,’ उनले भने ।
जिल्लाकाे घोराही-तुलसीपुर सडक अलपत्र परेको र सयौँको ज्यान गएकाे भन्दै उनले हाल एमालेकै पहलमा उक्त सडक धमाधम निर्माण भइरहेकाे बताए ।
उनले भने, ‘दाङबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले बनाउँछौँ भन्ने सपना त देखाए तर केही गर्न सकेनन्ज, जब नेकपा एमालेको नेतृत्वमा सरकार बन्यो, हामीले पहल गर्याैँ । एक्जिम बैंकको ऋण सहायतामा बन्न थालेको सडकलाई ठेक्का खारेज गरिकन नेपाल सरकारकै बजेटमा हामीले नयाँ ठेक्का गर्न लगायौँ र आज सडक धमाधम बन्दैछ । चार लेनको दङ्गाली जनताको सपना पूरा हुँदैछ ।’
पोखरेलले दाङमा एक घर एक धारा निर्माणकाे याेजना एमालेले अघि बढाएकाे पनि उनले बताए ।
