वेस्ट इन्डिजलाई हराउँदै भारत टी-२० विश्वकपको सेमिफाइनलमा
सञ्जु सामसनको विष्फोटक ब्याटिङसँगै वेस्ट इन्डिजलाई हराएर भारत जारी टी–२० विश्वकपको सेमिफाइनल प्रवेश गरेको छ । १९६ रनको चुनौतीपूर्ण लक्ष्य भारतले १९ दशमलव दुई ओभरमा पाँच विकेट गुमाएर पूरा गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १९५ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। कप्तान साई होपले ३२ रन बनाउँदा रोस्टन चेजले २५ बलमा ४० रन जोडे। सिमरोन हेटमायरले १२ बलमा २७ रनको आक्रामक इनिङ्स खेले भने अन्त्यतिर रोभम्यान पावेल (अविजित ३४) र जेसन होल्डर (अविजित ३७) ले तीव्र गतिमा रन थप्दै टोलीलाई बलियो अवस्थामा पुर्याए।
भारतका लागि जसप्रित बुमराहले चार ओभरमा दुई विकेट लिए। हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले समान एक–एक विकेट हात पारे।
१९६ रनको लक्ष्य पछ्याएको भारतको सुरुआत सामान्य रह्यो। अभिषेक शर्माले १० रन बनाएर आउट भए भने ईशान किशन १० रनमै फर्किए। कप्तान सूर्यकुमार यादवले १८ रन जोडे।
तर विकेटकिपर ब्याटर सञ्जु सामसनले उत्कृष्ट र आक्रामक ब्याटिङ गर्दै खेलको दिशा नै परिवर्तन गरिदिए। उनले ५० बलमा १२ चौका र चार छक्कासहित अविजित ९७ रनको शानदार इनिङ्स खेले। तिलक वर्माले २७ रनको महत्वपूर्ण योगदान दिए भने अन्तिमतिर हार्दिक पाण्ड्या १७ रनमा आउट भए। शिवम दुबे आठ रनमा अविजित रहँदा भारतले लक्ष्य पूरा गर्यो।
वेस्ट इन्डिजका लागि जेसन होल्डर र शमार जोसेफले समान दुई–दुई विकेट लिए पनि सामसनको विस्फोटक प्रदर्शनका कारण टोलीले खेल जोगाउन सकेन।
यससँगै भारतले सुपर एट्स चरणको आफ्नो प्रदर्शनलाई मजबुत बनाएको छ। भारत सुपर एट्समा दक्षिण अफ्रिकासँग पराजित भएको थियो। यो समूहबाट सबै खेल जितेर अपराजित रहेको दक्षिण अफ्रिका यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ।
