ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले सुइँसुइँ गएर मतदान गर्न पाउने
काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गतामैत्री बनाउने गरी आवश्यक प्रबन्ध मिलाएको बताएको छ ।
आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा अशक्त, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरीलगायतले सहज मतदान गर्नेगरि व्यवस्थापन गरिएको जनाएको हो ।
न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दे आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदान गर्नबाट कसैलाई पनि बञ्चित हुन नपर्नेगरि आयोगले सम्पूर्ण व्यवस्थापन गरेको जानकारी दिइन् ।
उनले भनिन्, ‘हामीले केन्द्रदेखि जिल्लासम्म अनुगमनकर्ता अनुगमन अधिकृतको व्यवस्थापन गरेका छौँ । हामीले सूक्ष्म अनुगमनको पनि व्यवस्था गरेका छौँ । हामीले कुनै पनि मतदान केन्द्रमा सबैको सहज पहुँच पुग्नुपर्छ भन्ने कुरामा आयोग दृढ छ । सो अनुसार नै मतदान केन्द्र तथा मतदानस्थलको व्यवस्थापन गरेका छौँ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, गर्भवती महिला, सुत्केरी, यौनिक अल्पसंख्यकहरु लाइनमा बस्नु पर्दैन । उहाँहरुलाई तुरुन्तै मतदान गर्न पाउने गरी व्यवस्थापन गरिएको छ । आयोगले आम मतदातालाई सहज ढंगले मतदान गर्न पाउने गरि व्यवस्थापन गरिसकेको अवस्था छ ।’
आयुक्त तुलाधरले आममतदातालाई सहज ढंगले मतदान गर्ने व्यवस्था मिलाउने सवालमा आयोगले कुनै कसुर बाँकी नराख्ने स्पष्ट पारेकी छन् ।
