निर्वाचनबारे प्रधानमन्त्री कार्कीकाे चार सन्देश (भिडियाे)
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ र ऐतिहासिक बनाउन आह्वान गरेकी छन् ।
देशवासीकाे नाममा साेमबार सम्बाेधन गर्दै उनले विभिन्न चार वटा विषयमा नागरिकहरूलाई अपिल पनि गरेकी छन् ।
पहिलो, निर्वाचनमा सरिक भइदिनुहोस्
प्रधानमन्त्री कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिन आग्रह गरेकी छन् । उनले भनिन्, ‘भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन । यो त तपाईले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो । तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु ।’
दोस्रो : मौन अवधिमा अनुशासनको पूर्ण पालना होस्
प्रधानमन्त्री कार्कीले निर्वाचनको सँघारमा सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गरेकी छन् । ‘शान्ति नै नेपालको असली पहिचान हो । चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन,’ उनकाे भनाइ छ ।
सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिँदै प्रधानमन्त्री कार्कीले दलहरुकै सक्रियताले लोकतन्त्र जीवित रहने बताइन्।
मौन अवधिमा पूर्ण अनुशासन पालना गर्न र त्यसअघिको बाँकी समयमा संयमित ढंगले, एक/अर्कालाई सम्मान गर्दै निर्वाचन प्रचार(प्रसार गर्न म सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई उनको आग्रह छ ।
निर्वाचन कार्यमा खटिएका निर्वाचन आयोग, सुरक्षा निकाय र सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिँदै उनले आयोगले छोटो र कठिन समयमा कार्यतालिका बमोजिम सबै तयारी पूरा गरेको र निर्वाचन निष्पक्ष, स्वच्छ र भयरहित रूपमा सम्पन्न गर्न नेपाल सरकार र आयोग पूर्ण प्रतिबद्ध रहेकाे बताइन् ।
तेस्रो : निर्वाचनको रङ र होलीको रङ मिलेर देशमा नयाँ उत्साह छाओस्
प्रधानमन्त्री कार्कीले निर्वाचनकै मुखमा होली अर्थात् फागुपूर्णिमा मनाउँदै गरेको उल्लेख गर्दै उनले शुभकामना दिएकी छन् ।
‘यो रङहरूको पर्वले एकता, सद्भाव र उत्साहको सन्देश दिन्छ । हाम्रो समाजमा रहेको विविधतालाई मजबुत बनाउँछ,’ उनले भनेकी छन्, ‘निर्वाचनको रङ र होलीको रङ मिलेर देशमा नयाँ उत्साह छाओस् ।’
चौथो : विदेशमा रहेका नेपाली कामदारको रक्षा गर्न सरकार कटिबद्ध
प्रधानमन्त्री कार्कीले मध्यपूर्वी क्षेत्रमा युद्धको संकट गहिरिएको र इरान र त्यसवरपरको तनावले चिन्तित बनाएको बताएकी छन् ।
‘विकसित घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा नियालिरहेको छ । त्यहाँ रहनुभएका हाम्रा नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरूको सुरक्षा हाम्रो ठूलो चासोको विषय हो’ उनले भनेकी छन्, ‘त्यस क्षेत्रमा रहेका सबै नेपाली नियोगहरूलाई सुरक्षासहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको छ र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको छ।’
