कस्तो होला हिमाली जिल्लाकाे चुनावी मौसम ?
काठमाडौं । वरिष्ठ मौसमविद् बरुण पौडेलले प्रतिनिधिसभा निर्वाचनको दिन ठूलो वर्षा हुने कुनै बाह्य र आन्तरिक प्रणाली सक्रिय नभएको बताएका छन् ।
बरु, पोखरा आसपासको क्षेत्रसँगै तराईका जिल्लाहरूमा हावाहुरी चल्ने सम्भावना रहेको उनको भनाइ छ ।
ठूलो वर्षा र झरीको सम्भावना देशभर नभए पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली हुने सम्भावना रहेको उनले बताए ।
खासगरी कोशीको ताप्लेजुङ र गण्डकीको बागलुङमा आंशिक बदलीको सम्भावना छ । उनका अनुसार निर्वाचनको दिन हिमाली क्षेत्रमा हिमपातको सम्भावना अत्यन्तै न्यून छ ।
तर, हावाहुरी पोखरा आसपास र तराईका जिल्लाहरूमा चल्ने सम्भावना हुनाले निर्वाचन अधिकृतको कार्यालयहरूले भने सावधानी अपनाउनुपर्ने उनी बताउँछन् ।
‘मतदान केन्द्रहरूमा टेन्टहरू मजासँग गाड्न आवश्यक हुन्छ । नभए हावाहुरी चल्दा उडाउन सक्छ,’ उनले भने ।
निर्वाचन यही २१ फागुनमा हुँदैछ । मतदानको समय बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म तोकिएको छ ।
यसअघि हिमाली क्षेत्रमा मतदानको दिन हिमपात परे मतदान प्रभावित हुने भन्दै राजनीतिक दलहरूले चिन्ता प्रकट गरेका थिए ।
लगत्तै प्रधानमन्त्री सुशीला कार्की हिमाली जिल्ला सोलुुखुम्बुदेखि ताप्लेजुङको भ्रमणमा निस्किएकी थिइन् ।
उनले यदि वर्षा वा हिमपात भए पनि मतदान प्रभावित नहुनेगरी तयारीका लागि जिल्लास्थित सम्बन्धित निकायलाई निर्देशन दिएकी थिइन् ।
