नारा-सुशासन र भ्रष्टाचार अन्त्यकाे, पारा-आठपटकसम्म कालाेसूचीमा परेकालाई टिकट !
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे नेपाली राजनीतिमा उदय सुशासन र भ्रष्टाचारविराेधी प्रश्न गरेर भयाे।
सबैभन्दा चर्का प्रश्नकर्ता सभापति रवि लामिछाने हुन् । भलै, उनी विवादमुक्त छैनन् ।
उनै लामिछानेले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएका एक नेताकाे निर्वाचन आयाेगले मङ्गलबार एक पटक हाेइन, आठपटक कालाेसूचीमा परेकाे तथ्यका आधारमा उम्मेदवारी खारेज गरेपछि सुशासन र भ्रष्टाचारविराेधी भनिने रास्वपा र लामिछाने गम्भीर सङ्कटमा परेका छन् ।
उम्मेदवारी खारेज भएका नेता हुन्- किशाेरी साह । उनलाई लामिछानेले धनुषा क्षेत्र नम्बर-१ मा उम्मेदवार बनाएकाे थियाे ।
उनीविरुद्ध बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेजीकाे माग गर्दै आयाेगमा उजुरी परेकाे थियाे ।
उजुरीकाे छानबिन गर्दा कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको पाइएपछि आयाेगले मंगलबार उनको उम्मेदवारी खारेज गरिदिएको हो । आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले उजुरी अनुसारको प्रमाण पर्याप्त भेटिएपछि उम्मेदवारी खारेज गरिएको बताए ।
निर्माण व्यवसायी साह कर्जा सूचना केन्द्रले उपलब्ध गराएको विवरणमा सबैभन्दा पहिले २०८० वैशाख १७ गते नै कालोसूचीमा थिए । त्यसबेला साहसँगै साझेदार अञ्जली साह पनि कालोसूचीमा परेकी थिइन् ।
त्यसपछि २०८० असोज १७ गते किशोरीसँगै सञ्जित कुमार साह पनि दोस्रो पटक कालोसूचीमाा परे । त्यही मितिमा फेरि उनीहरू दुवै कर्जा सूचना केन्द्रको अर्को कालोसूचीमा परेको रेकर्ड भेटिएको छ।
१९ असाेजमा साहसहित रामकुमार महासेठलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्यो । त्यसपछि २०८० असोज २१ गते साह र महासेठलाई फेरि अर्को पटक कालोसूचीमा राखियो ।
उनले गरेको बदमासीका कारण कर्जा सूचना केन्द्रले २०८० माघ २२ गते फेरि कालोसूचीमा राख्यो । उनीसँगै सञ्जितकुमार साह पनि फेरि कालोसूचीमा परे ।
साहलाई राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट लिएर चुनावमा होमिइसकेको अवस्थामा यही माघ ४ गते उनलाई कालोसूचीमा राखियो । त्यसपछि यही १० गते पनि साहलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ।
विवादै विवादले कालोसूचीमा परेका साहको उम्मेदवारी खारेज भएसँगै त्यहाँ अब नेपाली कांग्रेस, नेकपा एमाले र नेकपासहितका दलबीच प्रतिस्पर्धा हुने देखिएको छ।
उक्त निर्वाचन क्षेत्रमा एमालेका रामचन्द्र मण्डल, कांग्रेसका रामपलटन साह र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मातृकाप्रसाद यादव प्रतिस्पर्धामा छन् । अहिले पनि त्यहाँ ४२ जना उम्मेदवार छन् ।
